गृह मन्त्रालयमा जेनजी हेल्प डेस्क स्थापना

काठमाडौं । गृह मन्त्रालयले  जेनजी हेल्प डेस्क स्थापना गरेको छ । 

जेनजी पुस्ताले पछिल्लो समय विभिन्न सामाजिक र राजनीतिक मुद्दामा चासो देखाउँदै सक्रियता बढाएको पृष्ठभूमिमा समाजमा हुनसक्ने सम्भावित उच्छृङ्खल गतिविधिहरूको व्यवस्थापन तथा युवाहरूका गुनासो, समस्या र सुझावहरू सुन्नका लागि डेस्कको स्थापना गरिएको हो ।

यस हेल्प डेस्कमार्फत नागरिकहरूले आफ्नो गुनासो, सूचना, सल्लाह वा सुझावहरू फोन, एसएमएस, ह्वाट्सएप वा भाइबरमार्फत मोबाइल नम्बरमा सम्पर्क गरी दिन सक्ने गृह मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हेल्प डेस्क स्थापनाको उद्देश्य समाजमा उत्पन्न हुनसक्ने अस्थिरता, भ्रम वा अन्यौलता चिर्नु हो ।

मन्त्रालयले सबैलाई जिम्मेवार र सक्रिय नागरिकका रूपमा सहभागिता जनाउँदै सूचना आदानप्रदान गर्न आग्रह गरेको बताइएको छ । 

हेल्प डेस्कमार्फत सरकार र युवाबीचको संवादलाई सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

Share News