काठमाडौं । बैतडीमा एक अनमीले झाडीमै पुगेर सुत्केरी सेवा दिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकास्थित कटौजपानी स्वास्थ्य चौकीमा कार्यरत अनमी रमिता जोशीले पुर्चाैडी नगरपालिका- १० विजयपुरकी २२ वर्षीया बसन्ती विष्टलाई झाडीमै सुत्केरी सेवा दिएकी हुन् ।
बसन्तीले डेलिभरीका लागि कटौजपानी स्वास्थ्य चौकी आउँदै गर्दा व्यथाले च्यापेर स्वास्थ्य चौकी पुग्न नसकेपछि झाडीमै बच्चालाई जन्म दिएकी थिइन् । अनमी जोशीका अनुसार बच्चाकाे ताैल ३ केजी ४ सय ग्राम रहेको छ ।
स्थानीयहरूका अनुसार बैतडीको विकट गाउँ दोगडाकेदार-८ स्थित कटौजपानी स्वास्थ्य चौकी ग्रामीण स्वास्थ्य सेवामा अरूभन्दा अगाडि रहेको छ । तर सञ्चार नहुँदा स्वास्थ्य सेवा पहुँचमा चुनौती थपेको छ। स्वास्थ्य चौकीले दोगडाकेदार मात्र नभई पुर्चाैडीको तल्लादेही, विजयपुर लगायतका दर्जनौं गाउँमा स्वास्थ्य सेवा पुर्याउँदै आएको छ ।
स्वास्थ्य चौकीका कर्मचारीहरूले कमजोर सञ्चार सञ्जाल र अपर्याप्त पूर्वाधारका कारण बिरामीको उपचार तथा अत्यावश्यक सेवा प्रवाहमा ठूलो सास्ती खेपिरहेका छन् । विशेषगरी प्रसूति तथा आकस्मिक सेवाका लागि फोन सम्पर्क गर्न नसक्दा बिरामीको ज्यान नै जोखिममा पर्ने अवस्था सिर्जना भएको छ ।
स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूका अनुसार रातिको समयमा कुनै बिरामीलाई आकस्मिक सेवा चाहिएमा वा प्रसूति गराउनुपरेमा फोन नै लाग्दैन । सेवाग्राहीको फोन धेरैजसो ‘स्विच अफ’ हुने वा ’नेटवर्क नभएको’ सन्देश आउने गरेको गुनासो छ ।
दैनिक प्रशासनिक कार्य र डाटा इन्ट्रीका लागि पनि स्वास्थ्य चौकीलाई ठूलो समस्या छ । ‘डाटा इन्ट्री गर्न लाग्यो भने तल लाग्दैन, माल्लेक बजार जानुपर्ने बाध्यता छ । पानी परेको बेलामा त्यहाँ पनि समस्या हुन्छ, ’ अनमी जोशीले भनिन् ।
नेटवर्कको समस्याले गर्दा बिरामीको अवस्था बुझ्न र उनीहरूलाई समयमै स्वास्थ्य चौकीमा पुर्याउन निकै कठिनाइ हुने गरेको छ ।
झनै जटिल प्रकृतिका प्रसूति गराउनुपर्दाका पीडादायी अनुभव जोशीले सुनाइन् । स-साना बच्चालाई घरमै छाडेर पनि आफूहरूले चौबीसै घन्टा सेवामा खटिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।