बजार झरे लेकाली भेडा च्याङ्ग्रा, प्रतिकिलो १ हजार ३०० रुपैयाँ

काठमाडौं । दसैँ नजिकिदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडा च्याङ्ग्रा बजार झर्न थालेका छन् । किसान तथा व्यापारीहरू भेडा च्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजारमा आइपुगेका हुन् । हिमाली भेडा च्याङ्ग्रा बजार झरेपछि दसैँ पर्व आगमनको झल्को दिन्छ ।

मुस्ताङबाट बेनी-जोमसोम सडक भएर म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडा च्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौंलगायत ठूला सहरमा ढुवानी गर्न थालिएको छ । नेपाल चौपाया खरिद बिक्री सङ्घका संस्थापक अध्यक्ष ज्ञान कुमार श्रेष्ठले बिहीबारसम्म १ हजार ३०० भेडा च्याङ्ग्रा काठमाडौं पठाइएको र थप १ हजार ७०० पठाउने क्रममा रहेको जानकारी दिए । 

‘दसैँका लागि काठमाडौं, पोखरा, चितवन र बुटवलका बजारमा आउने भेडा च्याङ्ग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला र डोल्पा हो,’ २० वर्षदेखि भेडा च्याङ्ग्राको व्यापार गर्दै आएका श्रेष्ठले भने, ‘तातोपानी र रसुवा नाका बन्द भएकाले ठूला सहरमा यसपालि मुस्ताङी भेडा च्याङ्ग्रामात्र झरेका छन् ।’

मुस्ताङको लोमान्थाङ गाउँपालिका-३ नामग्यालबाट ४६५ वटा भेडा च्याङ्ग्रा पैदल हिँडाएर ल्याएको श्रेष्ठको टोली बिहीबार म्याग्दीको बैसरी आइपुगेका छ । डोल्पाको काइके गाउँपालिका-२ सहर ताराका सञ्जय बुढाले २५ दिनको पैदल यात्रा गरेर १६० वटा च्याङ्ग्रा बेच्न पोखरा हिँडेको बताए । 

‘समुद्री सतहदेखि ४ हजार मिटरभन्दा माथि उचाइमा किसानले पालेका च्याङ्ग्रा ल्याएर बेच्न आएको हो । भिर, खोल्सा, साँघुरो बाटोमा च्याङ्ग्रालाई हिँडाएर बजार पुर्याएर बिक्री गर्नु हाम्रो परम्परादेखिकै पेसा हो,’ उनले भने ।

डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडा च्याङ्ग्रा बेच्न र देशका विभिन्न शहरबाट आएका व्यापारीको जोमसोममा चहलपहल छ । मुस्ताङमा आकारअनुसार प्रतिगोटा ३२ देखि ३७ हजार रुपैयाँमा च्याङ्ग्रा बिक्री भइरहेको छ । काठमाडौं पुग्दा गत वर्षको दरमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो १ हजार ३०० रुपैयाँका दरले बिक्री गरिने व्यवसायी श्रेष्ठले बताए ।

मुस्ताङस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले यस वर्ष दसैँमा डोल्पा र जुम्लाका ३ हजार तथा मुस्ताङका किसानले पालेका १२ हजार भेडा च्याङ्ग्रा बिक्री हुने अनुमान गरेको छ । जोमसोममा भेडा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर बजार पठाउने व्यवस्था मिलाएको केन्द्रका प्रमुख पशु चिकित्सक लालमणि अर्यालले बताए ।

चाडपर्वका अवसरमा जडीबुटी युक्त बुकीमा चरेका हिमाली च्याङ्ग्राको मासु उपभोग गर्ने चलन छ । पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि अपभोगी मानिन्छ । मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङले च्याङ्ग्रा पालनबाट जीविकोपार्जन गरेको बताए । यसपालि ५० वटा च्याङ्ग्रा बिक्री गरेको उनको भनाइ छ । मुस्ताङी भेडा च्याङ्ग्राको ठूलो बजार पोखरा हो । म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, लमजुङका बजारमा पनि भेडा च्याङ्ग्राको खपत बढी हुने गरेको छ ।

मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदर कुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोत च्याङ्ग्रा पालन हो । च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ । हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट बचाउनु च्याङ्ग्रा पालक किसानको प्रमुख चुनौती हो । त्यसैगरी पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिएकाले भेडा च्याङ्ग्राको लागि आहारको अभाव हुन थालेको छ । हिउँदमा आवश्यकताभन्दा बढी हिउँ पर्दा भेडा बाख्रा आहारको अभावमा मर्ने समस्या पनि छ । रासस

Share News