काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले राजीनामा दिएका छन् । उनले बुधबार बैंक सञ्चालक समिति समक्ष राजीनामा पत्र बुझाएको सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए ।
उनका अनुसार बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ न्यौपानेको राजीनामा स्वीकृत गरेको हो । स्वास्थ्यमा आएको समस्याका कारण न्यौपानेले सीईओ पदबाट राजीनामा दिएको उनले बताए ।
‘उहाँ योबीचमा भारत जानु भयो । भारतमा स्वास्थ्यमा समस्या आयो । उहाँको कार्यकाल पनि धेरै छैन । डाक्टरको सुझाव अनुसार रेष्ट गर्नुपर्ने भएकाले राजीनामा नै दिने निर्णय गर्नु भयो,’ उनले भने, ‘म्याडम (न्योपानेकी श्रीमती)को गाइनो सम्बन्धी समस्या छ । उहाँ (न्यौपाने)को नाकको समस्या भएर अप्रेशन गर्नु पर्याे ।’
न्यौपाने पहिलाेपटक २०७५ मंसिरमा बैंकको सीईओमा नियुक्त भएका थिए । ४ वर्षे कार्यकाल सफलतापूर्वक निर्वाह गरेपछि बैंक सञ्चालक समितिले न्यौपानेलाई दोस्रोपटक २०७९ कात्तिकमा बैंकको सीईओमा नियुक्त गरेको थियो ।
उनको दोस्रो कार्यकालको समय बाँकी नै छ । तर, दोस्रो कार्यकालको समय बाँकी हुँदा उनले राजीनामा दिएका हुन् ।
बैंक सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीलाई कायममुकायम सीईओको जिम्मेवारी तोकेको छ ।