डेरा खोज्दै ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली डेरा खोज्दै छन् । भक्तपुरको बालकोटस्थित उनको निजी निवास हालैको जेनजी आन्दोलनमा जलेर नष्ट भएपछि नयाँ बासस्थानको खोजी भइरहेको एमाले स्रोतले जनाएको छ ।

ओली हाल नेपाली सेनाको कडा सुरक्षामा छन् । एमालेका एक नेताका अनुसार ओलीको सुरक्षालाई ध्यानमा राख्दै उपयुक्त स्थानमा डेरा मिलाइएपछि मात्र उनी सार्वजनिक हुने तयारीमा छन् ।

‘अध्यक्षज्यूको निवास पूर्ण रूपमा क्षतिग्रस्त भएकाले अहिले डेरा खोज्दैछौं । डेरा सरेपछि मात्र उहाँ सार्वजनिक हुने हुनुहुन्छ,’ ती नेताले भने ।

आन्दोलनपछि विभिन्न राजनीतिक दलका बैठकहरू सुरु भए पनि एमाले औपचारिक रूपमा सहभागी हुन सकेको छैन । ओली नेताहरूसँग सम्पर्कमा भने निरन्तर रहेका छन् र आफू बाहिर आएपछि मात्र बैठकमा सहभागी हुने बताएका छन् ।

एमाले भित्रका नेताहरूले ओलीको शीघ्र सार्वजनिक उपस्थिति र पार्टीलाई सक्रियतामा फर्काउने तयारी गरिरहेको बताएका छन् । राजनीतिक वृत्तमा समेत ओलीको डेरा चयन र उनी कहिले सार्वजनिक हुने भन्ने विषय चासोको विषय बनेको छ ।

Share News