काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको २ महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले चालु आवको २ महिनासम्म कार्यालयलाई ४३ अर्ब ३ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा भने लक्ष्यको ९०.९९ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व सङ्कलन उत्साहजनक भएको बताए ।
‘साउन महिनामा कार्यालयले १८ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । जेनजी समूहको आन्दोलनले भदौ महिनाको १ दिन राजस्व सङ्कलन ठप्पजस्तै हुँदा पनि राजस्व सङ्कलनमा वृद्धि भएको छ । भदौ महिनामा मात्रै मासिक लक्ष्यको ९३.९७ प्रतिशत राजस्व सङ्कलन गरेका छौँ,’ उनले भने ।
वीरगञ्ज भन्सार कार्यालयले भदौ १२ गते एकै दिनमा २ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यस्तै गरी भदौ १७ गते १ खर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
त्यस्तै भदौ २८ गते १ अर्ब ७१ करोड रुपैयाँ र भदौ ३१ गते भने १ अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
त्यस्तै जेनजी समूहको प्रदर्शनका दिन भदौ २४ गते ३ करोड रुपैयाँ, भदौ २५ गते भने शून्य राजस्व सङ्कलन भएको छ ।
त्यस्तै भदौ २६ गते ६ करोड रुपैयाँ र भदौ २७ गते भने ११ करोड रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयले साउन महिनामा १८ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्याे भने भदौ महिनामा भने २० अर्ब १२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।