प्रतिगामीहरु व्यवस्था उल्टाउन खोज्दैछन्, सचेत बनौँ: मुख्यमन्त्री कँडेल

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पछिल्लो समय प्रतिगामीहरू गणतन्त्र उल्टाउन दुष्प्रयासमा लागेको बताएका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) वीरेन्द्रनगर कमिटीद्वारा बिहीबार सुर्खेतमा आयोजित भेलामा उनले ७० वर्ष लामो सङ्घर्षपछि ल्याइएको गणतन्त्र र संविधानमाथि प्रहार गर्न थालेकाले नागरिक सचेत हुनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कँडेलले राजनीतिक परिस्थिति नयाँ मोडतर्फ गएको र संविधान अर्ध मृत अवस्थामा पुगेको भन्दै नागरिकस्तरबाटै होसियार रहनुपर्ने बताए । 

‘७ दशकको त्याग, बलिदान र सङ्घर्षपछि ल्याइएको संविधान समस्यामा छ । यसलाई जोगाउन सम्पूर्ण नागरिक सचेत हुन जरुरी छ,’ उनले भने, ‘सरकारले बेलैमा कानुनी संरचना परिवर्तन नगरेको र संवैधानिक व्यवस्था कार्यान्वयनमा कमजोर देखिएका कारण यो अवस्था आएको हो । अब सबै सुध्रिनुपर्छ ।’

पार्टी कार्यकर्तालाई जनस्तरमा मजबुत सम्बन्ध बनाउन, विश्वास जगाउन र सङ्गठनलाई बलियो बनाउन आह्वान गर्दै कँडेलले व्यक्तिगत विषयभन्दा परिस्थिति बुझेर दायित्व पूरा गर्नुपर्ने बताए । संविधान दिवसलाई विशेष रूपमा मनाउनुपर्ने उनको भनाइ छ । 

Share News