काठमाडौं । जेनजी आन्दोलनले ठूलो क्षति बेहोरेका एक दर्जन कम्पनीहरु रेटिङ एजेन्सीको वाचलिष्टमा परेका छन् । यसअघि रेटिङ गराएका ती कम्पनीहरूलाई रेटिङ एजेन्सी इक्रा नेपालले नकारात्मक प्रभावको निगरानीमा राखेको हो ।
इक्रा नेपालले बुधबार विज्ञप्ति जारी गर्दै १३ वटा कम्पनीलाई नकारात्मक प्रभावको निगरानीमा राखेको जानकारी दिएको हो ।
इक्रा नेपालले ६ वटा बीमा कम्पनीलाई पनि सो सूचीमा राखेको छ । व्यावसायिक कम्प्लेक्समा ठूलो क्षति हुँदा ती कम्पनीहरूले ठूलो परिमाणमा बीमा दाबीको माग गर्छन् । ठूलो रकममा दाबी परेपछि त्यसको प्रत्यक्ष प्रभाव बीमा कम्पनीमा पर्ने गर्दछ ।
सोही कारण इक्रा नेपालले नेपाल पुनर्बीमा कम्पनी, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सलाई नकारात्मक प्रभावको निगरानीमा राखेको छ ।
विज्ञप्तिमा सम्बन्धित बीमा कम्पनीहरूको वित्तीय अवस्थामाथि परेको प्रभावलाई इक्रा नेपालले निरन्तर निगरानी गर्ने उल्लेख छ । परिस्थिति प्रष्ट हुँदै जाँदा रेटिङ निगरानी हटाउने वा आवश्यक रेटिङ कदम चाल्ने जानकारी पनि दिएको छ ।
एक्राले सीजी इम्पेक्स प्रा.लि., आईओएल प्रा.लि. भाटभटेनी सुपरमार्केट, चन्द्रागिरी हिल्स लिमिटेड, मौलाकाली केबलकार लिमिटेड, कैलाश हेलिकप्टर र ओरियन्टल होटललाई पनि सो सूचीमा राखेको जानकारी दिएको हो । विज्ञप्तिमा यी रेटिङ प्राप्त संस्थाहरूमा भौतिक क्षति निकै गम्भीर भएको र यसले व्यवसाय सञ्चालन, आम्दानी क्षमता र ऋण भुक्तानी क्षमतालाई असर पार्ने देखिएको उल्लेख छ ।
यी संस्थाहरूका लागि इक्रा नेपालले सञ्चालन पुनः सुरु हुने समयसीमा, भएको क्षतिको परिमाण र बीमाबाट पाउने वास्तविक क्षतिपूर्तिलगायत विषयहरू निगरानी गर्ने जानकारी दिएको छ । यसका साथै पर्यटन पूर्वाधारहरू (तारे होटल, केबलकार परियोजनाहरू) मा भएको क्षतिले नेपालको पर्यटन क्षेत्रमा असर पार्ने सम्भावना रहेको उल्लेख छ ।
सेप्टेम्बरदेखि नोभेम्बरसम्मको प्रमुख पर्यटन सिजन भइरहेको बेला यी घटनाले विदेशी पर्यटकको आगमन घट्ने अनुमान इक्रा नेपालको छ । यसले विदेशी पर्यटकमा बढी भर पर्ने संस्थाहरूमा ठूलो असर पार्न सक्ने अनुमान इक्राको छ ।