रौतहटमा प्राइम सिरामिकको १.३ मेगावाट सौर्य ऊर्जा परियोजना कार्यान्वयन सुरु

काठमाडौं । हरित टाइल उत्पादक प्राइम सिरामिकले शून्य कार्बन उत्सर्जनतर्फ थप कदम चालेको घोषणा गरेको छ । कम्पनीले रौतहटस्थित आफ्नै कारखानामा १.३ मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना स्थापना गर्ने कार्य सुरु गरेको हो ।

यस प्लान्टबाट वार्षिक १४ लाख युनिट स्वच्छ ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ । यसले करिब ८ हजार टन कार्बन उत्सर्जन न्यूनीकरण गर्नेछ भने हरेक वर्ष २१ हजार रुख बचत गर्ने बराबरको योगदान पुग्ने कम्पनीले जनाएको छ । उत्पादित स्वच्छ ऊर्जा प्रत्यक्ष टाइल उत्पादन प्रक्रियामा प्रयोग हुने भएकाले यसले प्राइम टाइल्सको वातावरणीय योगदानलाई थप उच्च स्तरमा पुर्याउने विश्वास गरिएको छ ।

'दिगोपनासँग घर फर्कनुहोस्... आफ्नो घरलाई प्राइम टाइल्सले सजाउनुहोस्' भन्ने मूल नारासहित कम्पनीले यस परियोजनाबाट हरित प्रवर्द्धनमा अग्रणी भूमिका खेल्ने लक्ष्य लिएको छ।

सौर्य ऊर्जा परियोजनाको कार्यान्वयनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले डीकेटीआइ कार्यक्रमअन्तर्गत वित्तीय सहयोग उपलब्ध गराएको छ । सहयोग सम्झौता कार्यक्रममा एइपिसीका कार्यक्रम अधिकृत निरज सापकोटा, कार्यकारी निर्देशक नवराज ढकाल, प्राइम सिरामिकका अध्यक्ष आशिष गर्ग, प्राइम रिन्यूएबल्सका वरिष्ठ प्रबन्धक सञ्जय शाह र प्राइम सिरामिकका वरिष्ठ प्रबन्धक गोपाल मिश्राको उपस्थितिमा हस्ताक्षर गरिएको थियो ।

Share News