काठमाडौं । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरुप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरुप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपाल भरका सरकारी कार्यालय, विदेश स्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकारबाट निर्णय भएको छ ।’