दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने

काठमाडौं । यस वर्षको दशैं, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । 

मंगलबार काठमाडौंको मीन भवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको संवद्ध सबै पक्षको बैठकले यात्रुहरु जाने क्रम सुरु भइसकेकाले दशैंका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेका हुन् । 

जेनजीको आन्दोलन पछि विश्वविद्यालय, कलेजहरू बिदा हुने र उनीहरुको घर जाने क्रम सुरु भइसकेकाले यस वर्ष दशैंलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । 

उनले दशैंका लागि घर जानेहरूले ३-४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको पनि जानकारी दिए । 

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुहरूको सहज ढंगले गन्तव्यमा पुर्याउने गरी सम्वद्ध सबै पक्षसँग छलफल गरिएको बताए । यात्रुहरूको सहज रुपमा गन्तव्यमा पुर्याउने कुरामा कुनै कमी हुन नदिने उनले प्रतीज्ञा गरे ।

बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले पनि दशैंमा यात्रुहरूलाई गन्तव्यमा पुर्याउनका लागि प्रहरीले आवश्यक सुरक्षाको व्यवस्था मिलाइसकेको बताए । 

उनले दशैंमा बस यात्रुहरुलाई ठग्नेमाथि कारबाही हुने चेतावनी समेत दिए । उनले नेपाल प्रहरीले यात्रुहरुको सुरक्षाका लागि सहायता कक्षमा पनि प्रहरी परिचालन गर्ने पनि बताए ।

सडकको अवस्था र सुधारका प्रयास

सडकको अवस्था पूर्ण रूपमा सन्तोषजनक नरहेको व्यवसायीहरू बताउँछन् । बीपी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग र विशेषगरी नागढुङ्गादेखि मुग्लिङसम्मको बाटो जीर्ण अवस्थामा छ । यद्यपि, सडक विभागले खाल्डाखुल्डी पुर्ने तथा अन्य मर्मत सम्भारको कामलाई अगाडि बढाएको छ। पोखरा क्षेत्रको बाटो भने सामान्य अवस्थामा रहेको बताइएको छ। ठाउँ–ठाउँमा हेभी उपकरण राखेर सडकलाई सहज बनाउने प्रयास जारी छ । 

दशैंमा यात्रु भाडादर नबढ्ने महासंघले स्पष्ट पारेको छ ।  सरकारले निर्धारण गरेको भाडादर नै लागू हुनेछ । विभागले ठाउँ–ठाउँमा बुकिङ गर्ने स्थानहरूमा भाडादरको सूचना राखेर यात्रुहरूलाई जानकारी दिने व्यवस्था मिलाउनेछ । यद्यपि, रिजर्भ गाडीमा भने मानिसहरूले बढी भाडा तिरेर पनि यात्रा गर्न सक्नेछन् । 

यात्रुको चापअनुसार सवारीसाधनको अभाव सधैं रहने भए तापनि महासंघले देशभरिको आफ्नो ठूलो सञ्जालको उपयोग गर्नेछ । 

महासंघअन्तर्गत ३५७ वटा संघ/समितिहरू आबद्ध रहेकाले कुन ठाउँमा गाडीको माग बढी छ, त्यहीअनुसार गाडीहरूलाई ‘डाइभर्ट’ गरेर पठाउने व्यवस्था मिलाइनेछ । ‘हिजो मात्रै करिब ४०० गाडी बसपार्कबाट छुटेका छन् । पोखरामा लोड कम भएमा त्यहाँका गाडीहरूलाई पनि अन्यत्र पठाएर अधिकतम उपयोग गरिनेछ,’ महासंघका अध्यक्ष स्वाँरले भने । 

मौसम खराब भएको अवस्थामा समेत गत वर्ष स्थानीय गाडीहरूलाई केही शुल्क बढाएर भए पनि प्रयोगमा ल्याइएको अनुभव महासंघले सुनाएको छ । दशैंको बेला यात्रुहरूको सुरक्षित र सहज यात्राका लागि टिकट बुकिङदेखि सडक र सुरक्षा व्यवस्थापनमा विशेष तयारी गरिएको महासंघले जनाएको छ ।

Share News