काठमाडौं । आजदेखि मुस्ताङ भन्सार खुलेको छ । नेपाल राष्ट्र बैंकले मुस्ताङ भन्सार कार्यालयबाट जाँच पास हुने गरी वस्तु तथा सेवा आयात गर्न प्रतीतपत्र खुला गरेसँगै मुस्ताङ भन्सार खुला भएको हो ।
विदेशी विनिमय कारोबार गर्ने निकायका लागि जारी गरिएको एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चीनतर्फबाट हुने आयात प्रक्रियामा मुस्ताङ भन्सारलाई समेत समावेश गरेको राष्ट्र बैंकले जनाएको छ ।
बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको परिपत्रअनुसार अबदेखि चीनको भूभाग हुँदै ट्रक वा रेलमार्गमार्फत प्रतीतपत्र (एलसी) प्रयोग गरी वस्तु आयात गर्दा तातोपानी (सिन्धुपाल्चोक) र रसुवा (रसुवा) भन्सारसँगै मुस्ताङ भन्सार (मुस्ताङ) पनि प्रयोग गर्न सकिनेछ ।
यसअघि चीनसँग हुने आयातमा तातोपानी र रसुवा भन्सारमार्फत मात्र सामान ल्याउन पाइन्थ्यो । तर, संशोधनपछि तीनै भन्सार (तातोपानी, रसुवा र मुस्ताङ) प्रयोग गर्न सकिने व्यवस्था गरिएको हो ।
नेपाल राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था गरेको जनाएको छ ।