काठमाडौं । आगजनीका कारण कुरूप देखिएका संरचनाको दशैंअघि नै रङरोगन हुने भएको छ ।
सहरी विकासमन्त्री कुलमान घिसिङले सोमबार मन्त्रालयको पदभारपछि सम्बोधन गर्दै तत्कालका लागि रङरोगन गरिने र त्यसपछि फर्निचरलगायत अत्यावश्यक सामान व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।
उनले पुनःनिर्माण कार्य अगाडि बढाउन विशेष कोष खडा गर्ने तथा त्यसमा स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई आग्रह गरिने बताए ।
‘गत साता जेनजी आन्दोलनका क्रममा आगजनी भएका संरचनाको पुनर्निर्माण गर्नुपर्ने र त्यसका लागि आर्थिक स्रोत व्यवस्थापन नै अहिलेको मुख्य चुनौती हो । हाम्रो संरचना हामी आफै बनाउन सक्छौं भन्ने सन्देश दिनका लागि पनि विभिन्न सहयोगीसँग आग्रह गर्नेछौं,’ उनले भने, ‘तत्काल पुन:निर्माणको काम अगाडि बढाउने गरी एक साताभित्र खाका तयार गरेर अगाडि बढ्नेछौं ।’
मन्त्री घिसिङले भ्रष्टाचार उन्मूलन र सुशासन कायम गर्ने तथा मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नु ठूलो चुनौती रहे पनि तिनको समाधान गर्न सबै लाग्नुपर्ने बताए।
मन्त्रालयका सचिव गोपाल सिग्देलले पूर्वाधारमा भएको क्षति मूल्याङ्कन गर्ने, पुन: निर्माणका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गरिने जानकारी दिए ।