सरकार र निजी क्षेत्रको संयुक्त पहल, आपूर्ति सहज बनाउने तयारी तीव्र

काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गर्दै मुलुकमा सहज आपूर्ति सुनिश्चित गर्न निजी क्षेत्रका छाता संगठनहरूसँग विशेष छलफल गरेको छ ।

सो छलफलमा मन्त्रालयका अधिकारीहरू, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल च्याम्बर अफ कमर्स (एनसीसी), महिला उद्यमी महासंघ नेपाल (एफडब्ल्यूईएएन) र नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई) का प्रतिनिधिहरू, कर पदाधिकारी एवं अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

बैठकले हालैको घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

साथै आन्दोलनका क्रममा सरकारी र निजी संरचनामा भएको क्षतिको विवरण तयार गर्न, औद्योगिक वातावरण सुधार गर्न तथा लगानीकर्ताको मनोबल उकास्ने विषयमा गम्भीर छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार परिस्थिति क्रमशः सहज बन्दै गएको छ । अन्तर्राष्ट्रिय व्यापारका सीमा नाकामा भन्सार कार्यालय सञ्चालन भइसकेको र मालसामानको ढुवानी र वितरण सहज भइरहेको छ ।

चाडपर्वलाई लक्षित गर्दै साधन आपूर्ति तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत देशभर १५३ सहुलियत मूल्य पसल आजैदेखि सञ्चालनमा ल्याइएको छ । बजारमा दैनिक उपभोग्य सामग्री र पेट्रोलियम पदार्थको पर्याप्त आपूर्ति भएको मन्त्रालयको दाबी छ ।

मन्त्रालयले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र व्यवसायीहरूलाई अत्यधिक वस्तु सञ्चयन नगर्न र आपूर्ति व्यवस्थामा अवरोध पुर्याउने काम नगर्न आग्रह गरेको छ । 

साथै बजार अनुगमनलाई कडा पार्दै उपभोक्ता अधिकार हनन हुने कुनै गतिविधि भएमा कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

Share News