निष्काशन बन्द गरिएको श्रीनगर एग्रीटेकको आईपीओ भर्न २ दिन समय थपियो

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने समय २ दिन थपेको छ । भदौ ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई भदौ २५ गते निष्काशन बन्द गरेको थियो ।

तर, देशमा उत्पन्न विषम परिस्थितिले गर्दा दरखास्तमा बाधा पुगेको र उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको आग्रहलाई ध्यानमा राख्दै भदौ ३० गते र ३१ गते आवेदन दिने अवधि थप गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूलाई छुट्याइएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । 

उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नबिल बैंकको तानसेन पाल्पा र फरसाटिकर रुपन्देही, एनएमबि बैंकका तानसेन र फरसाटिकर तथा ग्लोबल आइएमई बैंकका तानसेन शाखाबाट आवेदन दिन सक्नेछन् ।

Share News