काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा विभिन्न व्यक्तिको नाम चर्चामा छ । जेनजी आन्दोलन पश्चात् प्रधानमन्त्री बनेकी कार्की मन्त्रिपरिषद गठनको तयारीमा छिन् ।
मन्त्रिपरिषद गठनको तयारीमा रहेका बेला सामाजिक अभियन्तादेखि विभिन्न क्षेत्रका विज्ञ व्यक्तिहरू मन्त्री बन्ने चर्चा चलिरहेको छ । प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषदमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङ पनि मन्त्री बन्ने चर्चा छ ।
लोडसेडिङ अन्त्य गरेर वाहवाही पाएका घिसिङ जनताले रुचाएका व्यक्ति पनि हुन् । त्यसैले उनलाई मन्त्री बनाउनुपर्ने माग एकथरीको छ । तर, घिसिङले भने आफूलाई मन्त्री बन्न कुनै प्रस्ताव नआएको बताए । मन्त्री बन्ने चर्चा सञ्चारमाध्यमबाट देखेको भएपनि आफूलाई वास्ता नभएको उनको भनाइ छ ।
‘मन्त्री बन्ने चर्चा मिडियामा देखिरहेको छु । तर, मलाई कुनै प्रस्ताव पनि आएको छैन । मलाई वास्ता पनि छैन,’ उनले विकासन्युजसँग भने ।