काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गर्दै अब अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने बताएकी छन् ।
आइतबार पदभार ग्रहणपछि सचिवहरुसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आँकलन गरी सफ्टलोनदेखि अन्य सहयोग गर्न सरकार तयार हुने बताइन् । उनले क्षतिका बाबजुत निजी क्षेत्रले अघि बढ्ने प्रण गरेकोमा प्रशंसा समेत व्यक्त गरिन् । उनले २४ गते आतंक फैलाएको र त्यसको छानविन समेत हुने बताइन् ।
‘व्यक्तिका घर, सम्पती, सुरक्षा निकायदेखि सिंहदरबार, संसद, अदालत जलाउने काम भयो । व्यक्तिको सम्पतीदेखि उद्योगी व्यापारी, इन्टरप्रेनरको सम्पति जलाउने काम भयो । उनीहरुलाई कसरी उठाउने भन्नेमा हामी सोच्छौं,' उनले भनिन्, 'कुन सहयोग दिने भन्नेमा हामी सोच्छौं । बैंकको सफ्ट लोन दिने की अथवा केही अन्य सहयोग गरेर हुन्छ की हामी सहयोग गर्छौं । आज मैले समाचार पनि पढेँ, धेरै ब्यापरीहरुले धेरै नोक्शानी भएको छ, हामी उठ्ने कोशिस गर्दैछौं भन्नुभएछ । हामी हार्दैनौं भन्नुभएको छ ।’
उनले निजी क्षेत्रले क्षति हुँदाहुँदै पनि आफ्नो भित्रको आन्तरिक बल देखाएकोमा धन्यवाद दिइन् । साना व्यापारीहरूलाई समेत राज्यले सहयोग गर्ने उनको भनाइ छ ।