काठमाडौं । काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् । ‘जेनजी’को प्रदर्शनका कारण ५ दिनदेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनमा आएसँगै शनिबार नयाँ बसपार्कबाट ३०० बढी सवारीसाधन बाहिरिएका हुन् ।
नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले शनिबार बिहानदेखि ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन यात्रु लिएर नयाँ बसपार्कबाट बाहिरिएका जानकारी दिए ।
‘यही भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण यातायात बन्द हुँदा काठमाडौंमा रहेका यात्रुहरू सार्वजनिक यातायातका साधनमार्फत गन्तव्यस्थलतर्फ जान थालेका छन्,’ उनले भने ।
शनिबार बिहानदेखि काठमाडौंको कर्फ्यु हटाइएकाले जनजीवन सामान्य बनेसँगै यात्रु वाहक सवारीसाधन सञ्चालन हुन थालेका उनको भनाइ छ ।
उनले दशैँसमेत सुरु हुन लागेकाले नयाँ बसपार्कमा अरू समयको तुलनामा यात्रुहरूको घुइँचो लाग्न थालेको बताए । यस वर्षको दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम ‘टिकट बुकिङ’ भने जेनजी प्रदर्शनका कारण हालसम्म खुल्न सकेको छैन ।