काठमाडौं । सिरहाका हरिप्रसाद चौधरी घरको बरन्डा अगाडि टोलाएर बसेका छन् । छेउमै जलेश्वरीदेवी (विजयकी आमा) उसैगरी टोलाइरहेकी छिन् । शरीर त्यहीँ छ, तर मन कता हो कता हराएको छ । उनको आँखा त्यही बाटो हेर्दै टोलाइरहेछ, जहाँबाट अब विजय कहिल्यै फर्कने वाला छैन । तर उनीहरूलाई थाहा छैन, छोरोले ‘जेनजी पुस्ता’ आन्दोलनमा गत मङ्गलबार संसार छाडिसकेका छन् ।
मन बेचैनले भरिएको छ । अनुहारमा एकैचोटी अनेकन् कुरा खेलिरहेको प्रष्ट देखिन्छ । आशा, डर अनि थोरै शङ्का । गाउँमा विजयबारे आएको खबर आधामात्र हो ।
‘गोली लागेको रे, तर उपचार भइरहेको छ,’ नजिकका एक आफन्तले आएर बताएपछि अत्तालिएको आमाबुबाको मन केही सम्हालिएको थियो । तर विजयको फोन, म्यासेज या कुनै खबर आउन छाडेको पनि कयौँ भइसकेको छ ।
घरको आँगन चिसो लाग्न थालेको छ । तर आमाबुबाको मन अझै तातो छ, छोरो आउने आशामा । भाइको मृत्युको खबर सुनेपछि हेटौंडामा बस्दै आएकी विजयकी दिदी काठमाडौं पुगेर आमालाई फोनमा सत्य लुकाएर ढाडस दिइरहेकी छिन् ।
‘भाइलाई आइसीयुमा राखिएको छ आमा, बोल्न सक्ने अवस्थामा हुनुहुन्न । होसमा आएपछि खबर गर्छु,’ उनी भन्छिन् ।
२७ वर्षीय विजय चौधरी, लहान-१५ सिमल टोलका बासिन्दा हुन् । गत मङ्गलबार काठमाडौंको बानेश्वरमा ‘जेनजी पुस्ता’ आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली विजयको छातीमा लाग्यो । त्यही ठाउँमा ढले । साथीले उनलाई तत्काल सिभिल अस्पताल लगे, तर त्यसबेला विजयको प्राण गइसकेको थियो । घटनाको पुष्टि हुँदै जाँदा, विजयको शव शिक्षण अस्पतालको शव गृहमा पुगिसकेको थियो । यता गाउँमा चाहिँ सत्य लुकाइएको थियो ।
५ वर्षदेखि काठमाडौंमा ‘हाउसवायरिङ’को काम गर्दै आएका विजय गत साउनमा गाउँमा रोपाइँ सकेर १५ दिनअघि मात्र श्रीमती उर्मिला र चार वर्षकी छोरीसहित फेरि राजधानी फर्किएका थिए । आमाबुबाको औषधि, घर खर्च, बालबालिकाको पढाइलगायत सबै कुरा विजयको कमाइमै निर्भर थियो । तर जसको आशामा घर चलेको थियो, उनै विजय अब फर्कने छैनन् ।
भाइलाई गोली लागेको खबर पाएपछि हेटौंडामा रहेकी दिदी सुशीला सोही साँझ काठमाडौं पुगिन् । उनले राजधानीका दर्जनौं अस्पताल चहारिन् । २४ घण्टापछि बल्ल सार्वजनिक सूचीमा भाइको नाम फेला पारिन् । शिक्षण अस्पताल पुगेर भाइको शव पहिचान गरिन् । त्यसपछि विक्षिप्त बनेकी सुशीला बाबुआमालाई सम्हाल्न गाह्रो हुने ठानेर भाइ उपचाररत रहेको झुटा कुरा बताइन् ।
‘छोरीले खबर गरिसकेकी छ, चाँडो निको होस् भनेर भगवानसँग कामना गरेकी छु,’ आमा जलेश्वरीदेवीले भनिन् ।
विजयको दाजु अजय वैदेशिक रोजगारीबाट शनिबार फर्किँदै छन् । उनले नै आमाबुबालाई यो पीडादायी खबर नसुनाउने योजना बनाएका हुन् । सायद उनलाई लाग्छ, भक्कानिएको आमाबाबुको मन सम्हाल्ने कोही हुने छैनन् । यो खबर सिधै भन्नु आमाको मुटुमाथि चोट हो । गाउँमा अहिले पनि विजयको कोठा खुलै छ । उनको श्रीमती अझै अर्ध चेत अवस्थामा छिन् । छोरीले बुझ्ने उमेर छैन । तर आमाको मनमा विजयको पाइला अझै सुनिन्छ– ‘पक्कै आउँछ नि १’
सबैसँग मिलेर बस्नसक्ने उहाँको स्वभाव थियो । लहान-१५ का वडाध्यक्ष तेजनारायण चौधरी भन्छन्, ‘विजय सधैँ शान्त स्वभावका थिए । कसैसँग झगडा गर्दैनथे । गाउँमा सबैलाई सम्झाइबुझाइ गर्थे ।’
उनका अनुसार विजय सो दिन साथीसँग सामान किन्न निस्किएका थिए । संसद् भवनअगाडि भीड देखेपछि भिडियो खिचिरहेका थिए । साथीहरूले फर्किन भनेका थिए, त्यसैबेला उनलाई गोली लाग्यो ।
गाउँमा अहिले सिङ्गो टोल स्तब्ध छ । तर त्यो स्तब्धताभन्दा गहिरो छ, सत्यलाई लुकाएर गरिएको प्रतीक्षा । आमाबुबा जसको आँखा बाटोमा छ, जसको कान मोबाइलको घण्टीतिर छ, अनि जसको मन आशा र भयको दोधारमा बाँधिएको छ । आमालाई सत्य कहिले बताइने हो, कुनै पत्तो छैन । रासस