देशले नयाँ प्रधानमन्त्री पायो, ओलीसहितका नेताले फिर्ता पाए जफत भएका मोबाइल

काठमाडौं । देशले नयाँ प्रधानमन्त्री पाउँदा केपी शर्मा ओलीसहितका नेताहरूले जफत भएका मोबाइल फोन फिर्ता पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा सपथ खुवाई रहँदा नेपाली सेनाको तालिम केन्द्र शिवपुरीमा रहेका निवर्तमान प्रधानमन्त्री ओलीसहितका नेताहरूले जफत भएका फोन फिर्ता पाएका हुन् । 

नेपाली सेनाको सुरक्षा घेराभित्र शिवपुरी ब्यारेकमा रहेका ओलीसहित निवर्तमान मन्त्रीहरूले मोबाइल फिर्ता पाएका छन् । भदौ २४ गते जेनजीको आन्दोलनकर्मीहरुले बालुवाटार, संसद् भवन, सिंहदरबार, राजनीतिक दलका कार्यालय तथा नेताका घरघरमा आगजनी गरेपछि नेपाली सेनाले हेलिकप्टर मार्फत तालिम केन्द्र शिवपुरीमा पुर्याएर सुरक्षा दिएको थियो । 

नेपाली सेनाले भैँसेपाटीस्थित मन्त्री निवासबाट हेलिकप्टरमा निवर्तमान मन्त्रीहरूलाई शिवपुरी पुर्याएको थियो । साथै उनीहरुको साथमा रहेका मोबाइल सेनाले जफत गरेको थियो । नवनियुक्त प्रधानमन्त्री कार्की शपथ सकेर राष्ट्रपति निवासबाट बाहिरिएसँगै शिवपुरीमा रहेका नेताहरूको फोन पनि लागि रहेको छ । 

Share News