काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने तय भएको छ । त्यसपछि संसद विघटन हुने बताइएको छ ।
कार्की पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । विराटनगरमा जन्मिएकी ७३ वर्षीया कार्कीको जन्म वि.सं २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो ।
उनले महेन्द्र मोरङ कलेज विराटनगरबाट २०२८ मा बिए र वनारस हिन्दु विश्वविद्यालयबाट २०३१ मा राजनीतिशास्त्रमा एमए गरेकी छिन् ।
२०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि कानूनी क्षेत्रमा उनको यात्रा अघि बढेको हो ।
अधिवक्ता भएर कार्कीले २०३५ चैत १६ गतेदेखि काम सुरु गरेकी थिइन् । उनले तीन वर्ष (२०४२–२०४६) महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन् ।
वि.सं २०४५ देखि २०४७ सम्म कार्की तत्कालीन कोसी अञ्चल बारको अध्यक्षको जिम्मेवारी लिँदै २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन् ।
त्यस्तै, २०६१ पुस ५ गते वरिष्ठ अधिवक्ता बनेकी उनी २०६५ माघ ९ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी थिइन् । त्यसपछि उनी २०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बन्न पुगिन् ।
कार्कीले तीन दशकभन्दा लामो समयमा वकालत गरेपछि उनी न्यायाधीशका रूपमा सिधै सर्वोच्च अदालत प्रवेश गरेकी थिइन् ।
उनले प्रधानन्यायाधीशका रूपमा एउटा गर्विलो छवि निर्माण गरेकी छन् । उनी २०७३ मा प्रधानन्यायाधीशमा नियुक्त भएकी थिइन् ।