काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार आएको छ ।
उनी नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी हुन् ।
कीर्तिपुरको बर्न अस्पतालमा चित्रकारको उपचार भइरहेको छ । उक्त अस्पतालका एक चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्थामा असाध्यै राम्रो सुधार आइरहेको छ ।
उनले सामान्य खाना खान र बोल्न थालेकी छन् ।
चित्रकारलाई अझै केही समय आईसीयुमै राखेर उपचार गर्नु पर्दछ । उनको शरीरका विभिन्न भाग जलेका छन् । जलेको भागमा शरीरका अन्य भागको मासु लगेर प्लान्ट गर्ने काम भइरहेको एक चिकित्सकले बताए ।
चित्रकार डल्लु आवासमा रहेको आफ्नै घरमा प्रदर्शनकारीले गरेको आगजनीमा परेर घाइते भएकी थिइन् ।
चित्रकारलाई बाहिरी मान्छेसँग भने भेटघाट गर्न नदिएको पनि चिकित्सकहरूले जानकारी दिएका छन् ।
जेनजी प्रदर्शनकारीहरूले नेता खनालको घर जलाउँदा उनकी पत्नी चित्रकार गम्भीर रूपमा जलेकी थिइन् ।