काठमाडौं । भदौ २३ र २४ गते जेनजी पुस्ताले देशभर गरेको आन्दोलनमा सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ । साथै ३० जना बढीले ज्यान गुमाएका छन् भने ३ सय भन्दा बढी घाइते भएका छन् ।
उक्त आन्दोलनमा नेपाल भ्रमणमा आएका कोही पनि विदेशी पर्यटकलाई क्षति नपुगेको नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपक जोशीले बताउँछन् ।
उनका अनुसार हिल्टनसहित केही होटलमा क्षति पुगेपनि पर्यटक भने सुरक्षित नै छन् । हिल्टनमा प्रदर्शनकारीले आन्दोलन गर्दा त्यहाँ फसेका पर्यटकलाई इमर्जेन्सी एक्जिटबाट सुरक्षितसाथ बाहिर निकालेका थिए ।
सीईओ जोशीले सबैभन्दा धेरै पर्यटक काठमाडौं र पोखरामा रहेको र उनीहरुलाई सुरक्षित बसोबास र निश्चित गन्तव्यसम्म पुर्याउने काम भइरहेको बताए ।
कुनै पर्यटकलाई क्षति नपुगे पनि केही होटलहरूमा तोडफोड र आगजनी हुँदा पर्यटकहरूमा त्रासपूर्ण वातावरण भने सिर्जना भएको उनको भनाइ छ ।
जेनजी आन्दोलनमा हिल्टनसहित एक दर्जनभन्दा बढी होटलहरूमा क्षति पुगेको छ । जसमध्ये हिल्टनमा सबैभन्दा धेरै क्षति पुगेको छ ।