काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले संविधानमार्फत युवाले उठाएका माग सम्बोधन गर्नुपर्ने बताएका छन् । डा. कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गरी ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाले उठाएको आवाजप्रति आफ्नो पूर्ण समर्थन रहेको बताए ।
‘जहानियाँ राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि सङ्घर्षरत परिवार र नेपाली कांग्रेसको सदस्यको नाताले, म हरेक आन्दोलनको जायज र न्यायोचित माग लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार समाधान हुनुपर्नेमा दृढ विश्वास राख्दछु,’ उनले भने ।
डा. कोइरालाले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सबैको आत्मालाई श्रद्धाञ्जली अर्पण गर्दै, शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका पार्टीका नेता तथा कार्यकर्ताहरू, आन्दोलनकारी र सुरक्षाकर्मीमाथि भएको आक्रमणको निन्दा गर्दै सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।
पूर्वमहामन्त्री डा. कोइरालाले सरकारी, सार्वजनिक सञ्चार गृह, उद्योग, व्यवसाय तथा कलकारखाना साथै निजी सम्पत्ति र भवनहरूमा भएको तोडफोड, लुटपाट र व्यक्तिगत आक्रमणजस्ता घटनाको विरोध गरे ।
आन्दोलनपश्चात मुलुकमा देखिएको राजनीतिक रिक्तता तत्काल भरिनुपर्ने आवश्यक रहेकाले यसका लागि देशभित्रका सबै पक्षबीच सहमति, सहकार्य र एकता कायम गरी संवैधानिक मार्गद्वारा शान्तिपूर्ण समाधान निकाल्नु आजको आवश्यकता भएको उनको भनाइ छ । यसतर्फ जेनजी युवाहरूको पूर्ण सकारात्मक भूमिका रहने विश्वाससमेत उनले व्यक्त गरे ।
जेनजीको ‘भ्रष्टाचार र बेथिति’ सम्बन्धी न्यायोचित मागहरु वर्तमान संविधानभित्रै रहेर समाधान गर्नुपर्ने उनले बताए । डा. कोइरालाले ६५ वर्ष लामो राजनीतिक सङ्घर्ष, त्याग, तपस्या र बलिदानको परिणाम स्वरूप नेपालमा पहिलोपटक जन निर्वाचित संविधानसभाबाट निर्मित संविधानअनुसार आगामी राजनीतिक यात्रा तय गर्नुपर्ने उल्लेख गरे ।
संवैधानिक समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेलको पहल सराहनीय भएको र उक्त पहलमा सबैको साथ र समर्थन रहनेमा उनले विश्वास व्यक्त गरे ।