प्रसाईं समर्थक भन्छन्– बालेनले पिधँ देखाए, फिल्डमा उत्रिने आँटिलो नेता प्रसाईं हुन्, नेतृत्व दिनुपर्छ

काठमाडौं । दुर्गा प्रसाईंलाई नागरिक सरकारको नेतृत्व दिनुपर्ने माग गर्दै रत्नपार्कमा राजावादीहरूले नारा लगाएका छन् ।

प्रसाईंका समर्थकहरूले आगामी नागरिक सरकारको नेतृत्वका लागि उनको नाम अगाडि सारेका छन् । उनीहरूले अन्य सम्भावित नेताहरूलाई पछाडि राख्न जोड गरिरहेका छन् ।

समर्थकहरूले प्रसाईंलाई वास्तविक राष्ट्रवादी नेताको रूपमा प्रस्तुत गर्दै उनको विगतका कार्यहरूलाई मुख्य आधार बनाएका छन् । 

उनीहरूका अनुसार प्रसाईंले विदेशमा बेचिएका चेलीहरूलाई फिर्ता ल्याउन, मृत्युदण्डको सजाय पाएका नेपालीहरूलाई जोगाउन, घरजग्गा लिलाम भएकाहरूको सम्पत्ति फिर्ता गराउन र बैंकको १८ प्रतिशत  ब्याजदरलाई ८ प्रतिशतमा झार्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

समर्थकहरूले कुलमान घिसिङ र बालेन शाहजस्ता अन्य सम्भावित नेताहरूलाई नेतृत्वका लागि अनुपयुक्त ठहर गरिरहँदा प्रसाईंका समर्थकले कुलमान घिसिङलाई जलस्रोत मन्त्रालयका लागि उपयुक्त भए पनि प्रधानमन्त्री पदका लागि क्षमता नभएको बताउँछन् ।

त्यस्तै, बालेन शाहले पनि ‘पिँध देखाइसकेको’ भन्दै उनहरूले जनताको अपेक्षाअनुसार चल्ने र फिल्डमा उत्रिने आँटिलो नेता प्रसाईं भएको स्पष्ट पारे ।

‘हामीलाई कोठाभित्र बस्ने होइन, जनतालाई बाटोमा ल्याउने र फिल्डमा उत्रिने आटिला नेता चाहिन्छ,’ एक समर्थकले भने । 

‘दुर्गा प्रसाईं जस्तो नेता चाहिन्छ, जसले झापाको बिर्तामोडमा आन्दोलनकारीहरुलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ,’ उनले थपे ।

उनीहरुका अनुसार यस आन्दोलनको मूल उद्देश्य भ्रष्टाचारलाई जरैदेखि उखेल्नु र देशलाई ‘अन्योलको बन्दी’  हुनबाट जोगाउनु हो ।

अबको नेतृत्व जेनजीले नै गर्नुपर्ने उनीहरू बताउँछन् ।
 

Share News