एमालेको वक्तव्य– असामान्य परिस्थिति पार गर्न संविधानसम्मत निकास र राष्ट्रिय एकता आवश्यक

काठमाडौं । मुलुकमा पछिल्लो समय उत्पन्न भएको असामान्य राजनीतिक र सामाजिक परिस्थिति प्रति नेकपा (एमाले) ले गहिरो चिन्ता व्यक्त गर्दै विस्तृत वक्तव्य जारी गरेको छ । 

पार्टीको केन्द्रीय सचिवालयले जारी गरेको वक्तव्यमा भदौ २३ गते जेन्जी युवाहरूले राखेका मागहरू वैधानिक र लोकतान्त्रिक रहेका भए पनि त्यस क्रममा भएको जनधनको क्षतिले सम्पूर्ण राष्ट्रलाई स्तब्ध पारेको उल्लेख छ ।

एमालेले प्रदर्शनमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै मृतक परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेको छ ।

पार्टीले भदौ २४ गते देशभर भएको आगजनी, तोडफोड, लुटपाट र हिंसात्मक गतिविधिलाई राष्ट्रका लागि गम्भीर त्रासदीको रूपमा व्याख्या गर्दै संघीय संसद, राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी कार्यालय, विमानस्थललगायत संवैधानिक निकायहरूमा भएको क्षतिलाई दशकौं पछाडि धकेल्ने घटना भनेको छ । 

वक्तव्यमा बहुमूल्य दस्तावेज र अभिलेख नष्ट हुनु, १३ हजारभन्दा बढी कैदीबन्दी जेल तोडेर भाग्नु र सार्वजनिक तथा निजी सम्पत्तिको खर्बौं मूल्य बराबरको क्षति हुनु अत्यन्त गम्भीर रहेको उल्लेख गरिएको छ ।

एमालेले आयोजकहरूले आफुहरूको प्रदर्शन शान्तिपूर्ण रहने पूर्वघोषणा गरे पनि पछि देखिएका विनाशकारी घटनामा आफ्नो संलग्नता नभएको बताएका कुरालाई स्वागत गर्दै योजनाबद्ध विध्वंस कसले र किन गर्यो भन्ने सत्य बाहिर ल्याउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ । यस्तो अवस्था रोक्न सुरक्षा निकाय किन प्रभावकारी हुन सकेनन् भन्नेबारे गम्भीर समीक्षा हुनुपर्ने पनि एमालेको माग छ ।

पूर्ण वक्तव्य :

मुलुकमा उत्पन्न असामान्य परिस्थितिबाट नेकपा (एमाले) गंभीर र संवेदनशील बनेको छ । विकसित घटनाक्रम र निकासका सम्बन्धमा पार्टीको दृष्टिकोण देहाय बमोजिम प्रस्तुत गर्न चाहन्छौँ –

सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचार र ञनातावादको विरोध, सुशासन लगायत विभिन्न माग राखेर जेन्जी युवाहरुले गरेको भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबाट नेकपा ९एमाले० स्तब्ध भएको छ ।  घटनामा परी जीवन गुमाउनु हुने सबै युवाहरुप्रति पार्टी पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । ठुलो सङ्ख्यामा रहनुभएका घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्र्दै आफन्तको वियोगको पीडामा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । पार्टी उपरोक्त दुखदायी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनबमोजिम कार्बाही हुनुपर्छ भन्ने माग गर्दछ ।

त्यस घटनाको लगत्तै भदौ २४ गते देशव्यापी रुपमा आगजनी, तोडफोड, हिँसा र लुटपाटको त्रासदीपूर्ण दृश्य देखा पर्यो । सङ्घीय संसद, राष्ट्रपति भवन, ऐतिहासिक सिँहदरबार र त्यहाँ अवस्थित सबै मन्त्रालयहरु, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, सबै जसो प्रहरी कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, अख्तियार लगायत संवैधानिक निकाय र देशैभरिका विभिन्न सरकारी कार्यालय  ध्वस्त भएका छन् । बहुमूल्य र दुर्लभ अभिलेख, दस्ताबेज र लिखतहरु जलेर नष्ट भएका छन् । विभिन्न मिडिया हाउस, होटल, डिपार्टमेन्टल स्टोर, केबुल कार, गाडीका शोरुम, ब्याङ्क लगायत खर्बौँ मूल्यका सार्वजनिक र निजी सम्पत्ति सखाप पारिएका छन् । १३ हजार भन्दा बढी कैदीबन्दीहरु जेल तोडेर बाहिर निस्कँदा शान्ति सुरक्षामा गंभीर चुनौती थपिएको छ । राजनीतिक दलका नेता कार्यकर्ता तथा कार्यालयहरु निशाना बनाइएका छन् । कतिपय स्थानमा मान्छेहरु जिउँदै जलाइएका छन् । विकासका दृष्टिले मुलुकलाई दशकौँ पछाडि धकेल्ने यी घटनाक्रमबाट सिङ्गो राष्ट्र स्तब्ध भएको छ । राष्ट्रले व्यहोर्नु परेको यस भयावह विनाशप्रति पार्टी गहिरो चिन्ता व्यक्त गर्दछ । सङ्लग्न दोषीहरु पहिचान गरेर कडा कानुनी कार्बाही गरिनु पर्छ भन्ने माग गर्दछ ।

आयोजकहरुबाट आफूहरुको प्रदर्शन शान्तिपूर्ण रहने पूर्व घोषणा भएको थियो । घटनापछि पनि आगजनी,  लुटपाट र तोडफोड जस्ता यस्ता घटनाहरुमा आफूहरुको  कुनै सङ्लग्नता नरहेको जानकारी दिइएको थियो । आयोजकहरुले योजना विपरीत यस्ता विध्वंसात्मक र विनाशकारी घटना कसबाट र कसरी घटाइए, यसको यथार्थ छानबिन हुनैपर्छ र सत्यतथ्य बाहिर ल्याइनैपर्छ । यस विध्वंशका योजनाकार र दोषीहरुलाई कानुनी दायरामा ल्याइनु पर्दछ भन्ने पार्टीको स्पष्ट मान्यता छ । यति ठुलो विनाश रोक्न राज्यका सुरक्षा निकायहरु किन प्रभावकारी हुन सकेनन् भन्ने विषयमा पनि पनि समीक्षा हुनुपर्छ  ।

​प्रधानमन्त्रीको राजिनामापछि अबको राजनीतिक निकास संविधानसम्मत् रुपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी स्पष्ट छ । सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरुलाई संवोधन गरिनुपर्छ । यसका लागि संविधानका मर्म अनुरुप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ ।

​यस्तो विषय परिस्थितिमा सङ्घीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरुले आ–आफ्‌नो स्थानबाट लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेलून् भन्ने हाम्रो आग्रह छ । स्थानीय तहहरुले निर्वाध रुपमा सेवाप्रवाह गर्ने वातावरण निर्माण गरिनुपर्छ । संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरुलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलव्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान गर्दछौँ ।

असामान्य स्थितिको लाभ उठाउँदै अझै पनि देशका विभिन्न भागमा लुटपाट, आगजनी र तोडफोडका घटना भइरहेका देखिन्छन् । यस्ता आपराधिक क्रियाकलाप नियन्त्रण गर्न, नागरिकहरुको जीउधनको सुुरक्षा सुनिश्चित गर्न र सार्वजनिक एवं निजी सम्पत्तिको संरक्षण गर्न नेपाली सेना लगायत सबै सुरक्षा निकायहरुको गंभीर ध्यानाकर्षण गर्दछौँ ।

स्थिति सामान्य हुनासाथ पार्टीको बैठक बसेर समग्र स्थितिको समीक्षा गरिने छ । हाम्रो भूमिकाको पनि आवश्यक आत्मसमीक्षा हुनेछ र आगामी कामहरुबारे औपचारिक निर्णय गरिने नै छ ।

नेकपा ९एमाले० सबै खाले निरङ्कुशतन्त्र, सशस्त्र द्वन्द्वकालको दोहोरो हिंसा, सामाजिक विद्वेषका अत्यन्त प्रतिकूल परिस्थिति, प्राकृतिक विपत्तिहरु एवं नाकाबन्दी र महामारी जस्ता असामान्य चुनौतीसँग जुझ्‌दै र तिनीहरुमाथि विजय हासिल गर्दै यहाँसम्म आइपुगेको छ । आजको प्रतिकूल अवस्था पनि यही रुपमा रहने छैन, अन्त्य भएर जानेछ । यस्तो विषम परिस्थितिमा केन्द्रीय सचिवालय सबै नेता कार्यकर्ताहरु, सदस्य र समर्थ–शुभेच्छुकहरु, जनप्रतिनिधि र जनवर्गीय सङ्गठनका नेता कार्यकर्ता सहित सिङ्गो पार्टी पङ्क्तिलाई दृढ र एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्दछ । ध्वस्त भएका सार्वजनिक कार्यालय र स्थलहरुको सरसफाइ गर्न, सामाजिक सद्भाव कायम गर्न र जनतालाई परेका पीरमर्कामा संभव सहयोग प्रदान गर्र्न पार्टी पङ्क्तिले स्वयंसेवी भूमिका खेल्नु पर्दछ । प्रतिकूल अवस्थामा सबै कमरेडहरुसँग आपसी सम्पर्क र छलफलमा रहन, सम्बन्धित स्थानका संविधान– पक्षधर दलहरुसँग आवश्यक समन्वय र सहकार्य गर्न एवं परिस्थिति अनुसार रचनात्मक ढङ्गले अघि बढ्न पनि आग्रह गर्दछौँ । यतिबेला उच्च मनोबल कायम राख्नु, प्रतिकूलतालाई चिर्नु, एकताबद्ध हुनु र दृढ विश्वासका साथ अगाडि बढ्नु आवश्यक छ । राष्ट्र, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि पार्टी दृढतापूर्वक उभिने छ  ।
 

Share News