काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताएकी छन् । नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि जेनजी युवाबाट आएको प्रस्ताव उनले स्वीकार्ने बताएकी हुन् ।
भारतीय एक टेलिभिजनसँगको प्रतिक्रियामा कार्कीले नेपाली युवाले आफूलाई गरेको विश्वासप्रति विनम्रता महसुस गरेको बताइन् ।
उनले भनेकी छन्, ‘जेन-जी समूहले मलाई छोटो अवधिका लागि सरकारको नेतृत्व गर्न विश्वास गरेको छ । म राष्ट्रिय हितका लागि काम गर्न तयार छु ।’
साथै उनले आफू भारतीय नेताहरूबाट आफू धेरै प्रभावित भएको पनि बताएकी छन्।
यद्यपि जेनजीहरूले अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई दिने प्रस्ताव गरे पनि केही जेनजीले भने असन्तुष्टि जनाएका छन् ।
जेनजीहरुबीच नै नेतृत्वकर्ताको विषयमा असन्तुष्टि हुँदा नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय पनि पेचिलो बनेको छ । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै केही जेनजीहरूले हिजो जंग्गीअड्डाबाहिर नाराबाजी पनि गरेका थिए ।
जेनजीहरूबीच नै कुरा नमिलेपछि सेनाले बिहीबार बिहान सम्पर्कमा आउन आग्रह गरेको थियो ।