जेनजी आन्दोलनको नाममा अराजकता, थापाथलीका विभिन्न शोरुममा तोडफोड र आगजनी, अर्बौंको क्षति

काठमाडौं । जेनजीको नाममा भएको आन्दोलनका क्रममा थापाथली क्षेत्रका विभिन्न कम्पनीका गाडीका शोरुमहरूमा व्यापक तोडफोडसँगै आगजनी गरिएको छ । जबकी कुनै पनि राजनीतिक दल वा विवादमा संलग्न नरहेका निजी कम्पनी तथा ब्राण्डहरूका शोरुममा आक्रमण गरिएको हो । 

प्रदर्शनकारीहरूले शोरुमको सिसा फुटाएरभित्र प्रवेश गरी बिक्रीका लागि राखिएका नयाँ गाडीहरूको सिसा र संरचना निर्ममतापूर्वक नष्ट गरेको कम्पनीहरुले बताएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका  भिडियोहरूमा शोरुमहरु तोडफोड गरेको देख्न सकिन्छ । 

यसैगरी केही प्रदर्शनकारीहरूले शोरुमको कार्यालयभित्र पसेर फर्निचर, कागजात, कम्प्युटर आदि जलाउने, लुटपाट गर्ने र आगजनी गर्ने कार्यमा समेत संलग्न भएको बताइएको छ । 

निजी सम्पत्तिमा गरिएको यस्तो व्यापक क्षतिले आन्दोलन अराजक लुटपाट र हिंसात्मक मोडमा प्रवेश गरेको संकेत दिएको छ । 

थापाथली क्षेत्रमा रहेको सिजी, हुण्डाई, महिन्द्रा, टाटालगायतका अन्तर्राष्ट्रिय ब्राण्डका शोरुमहरू पूर्ण रूपमा क्षतिग्रस्त छन् । यो घटनापछि थापाथली क्षेत्र अहिले उजाड र त्रासित देखिएको छ । व्यवसायीहरू आक्रोशित भएका छन् भने प्रतिक्रिया दिन नसक्ने अवस्थामा छन् । 

प्राप्त जानकारीअनुसार सुजुकी ब्रान्डका ११ वटा सवारीसाधनमा क्षति पुगेको छ । महिन्द्राका ३ वटा गाडी क्षतिग्रस्त भएका छन् भने १ वटा गाडीमा आगजनी गरिएको छ ।

सिप्रदी ट्रेडिङ (टाटा) का ४ वटा सवारीसाधनमा क्षति पुगेको छ । सिजी मोटर्स अन्तर्गतका १४ वटा गाडीमा क्षति पुगेको छ । यस्तै, हुण्डाई शोरूमको मुख्य गेटमा तोडफोड गरिएको छ ।

जेनजी आन्दोलनको नाममा मंगलबार गाडीका शोरुमहरू मात्र होइन, अर्बौं रुपैयाँ लगानीमा स्थापना गरिएका ठूला होटल, सुपरमार्केट, टेलिकम कम्पनी, विद्यालयहरूमा समेत आक्रमण गरिएको छ । यसले देशको पहिल्यै कमजोर रहेको व्यवसायिक वातावरणलाई थप अस्थिर बनाएको छ । 

Share News