काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशका बाजुरा बाहेक सबै जिल्ला कारागारका कैदीबन्दी फरार भएका छन् । मंगलबार भएको जेनजी युवाको प्रदर्शनका क्रममा सुरक्षास्थिति नियन्त्रण बाहिर जाँदा प्रदर्शनकारीहरूले विभिन्न जिल्ला कारागारमा पुगेर कैदीबन्दीहरूलाई छुटाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बर विश्वकर्माका अनुसार कैलाली कारागारका करिब ७ सय कैदीसहित आठ वटा जिल्ला कारागारबाट करिब १ हजार ४ सय कैदीबन्दी फरार भएका हुन् ।
कञ्चनपुर कारागारमा रहेका ४ सय ७६ कैदीबन्दीमध्ये २२ जना भने भाग्न अस्वीकार गर्दै कारागारमै रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार तीमध्ये १३ पुरुष र ९ महिला कैदीले कानुनको उल्लङ्घन नगर्ने अडान राख्दै भाग्न अस्वीकार गरेका हुन् ।
यस्तै, बझाङ जिल्ला कारागारमा रहेका ८५ कैदीबन्दीमध्ये ६६ जना भागेका छन् भने बाँकी कैदीहरू कारागारमै रहेका छन् । भागेकामध्ये मंगलबार तीन र बुधबार दुई गरी पाँच जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । अन्य अधिकांश जिल्ला कारागारहरू पनि अहिले प्रायः खाली छन् ।