काठमाडौं । युवा उद्यमी प्रबलजंग पाण्डेले केही राजनीतिक नेतृत्वको गल्तीले उद्योगी व्यवसायीहरू निसानामा पर्ने गरेको बताएका छन् । लाखौं जनतालाई रोजगारी दिइरहेका उद्योगी व्यवसायीहरू आन्दोलनकारीको निसानामा पर्दा अन्योलको अवस्थामा रहेको उनले बताए ।
विगत दुई दिनको घटनाले सबै उद्योगी व्यवसायीहरू अन्योल र शून्यमा पुगेको उनको भनाइ छ । नियम परिधिमा व्यवसाय गरी राज्यलाई कर तिर्दा पनि निसानामा पर्ने गरेको उनले बताए ।
‘विगत दुई दिनको घटनाक्रमले हामी सबै अन्योलमा छौ, बिचार शून्यमा छौ, हाम्रो मनोबल अत्यन्तै न्यून भएको छ । हामीले ऋण गरेर उद्योग व्यवसाय संचालन गरेका हौ, हामीले लाखौं जनतालाई रोजगारी दिएका छौ । हामीले राज्यको नियम परिधिमा व्यवसाय गरी राज्यलाई बुझाउनु पर्ने कर लगायत अन्य दायित्व पनि बुझाई रहेका छौं,’ उनले भने, ‘राजनीतिक नेतृत्वका केही नेताको गल्तीको सजाय हामी समग्र व्यवसायी लाई किन ? हाम्रा उद्योग व्यवसायमा निसाना किन ? हाम्रा घर घरमा आक्रमण किन ? के अब नेपालमा उद्योग नचाहिने हो ?’
१२ वर्षे माओवादी आन्दोलन, तराई आन्दोलन, २०६२/६३ को आन्दोलनलाई झेलेर नेपाल मै केही गर्नु पर्छ भनेर व्यवसाय गरिरहेको उनले बताए । ‘हाम्रो मनोबल यति कमजोर छैन । हामी दुई ठूला अर्थतन्त्र भएको मुलुकबीच रहेर पनि उद्योग व्यवसाय गरिरहेका व्यवसायी हौ, हामी कमजोर छैनौं, हामी अझ जुझारु भएर देशमा व्यवसाय गर्न सक्छौं,’ उनले भने ।
मनोबल उच्च राखी पुनः व्यवसाय गरेर देशमा रोजगारी श्रृजना गरेर देश विकासमा टेवा पुर्याउन सक्ने उनले बताए । तर, पहिलो सर्त शान्ति सुरक्षा र व्यक्तिगत जिउ धनको सुरक्षा रहेको उनको भनाइ छ ।