राष्ट्रहितका खातिर क्रियाशील रहौं, क्षतिको पुनर्निर्माणमा जुटौं : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको जनाउँदै राष्ट्रहितका खातिर क्रियाशील रहन अनुरोध गरेको छ ।

मङ्गलबार राति प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्तिमार्फत् सोमबार जेनजीको आव्हानमा आयोजित शान्तिपूर्ण विरोधप्रदर्शनका क्रममा भएका दुःखद घटनाबाट प्रहरी सङ्गठन मर्माहत भएको बताएको छ ।

‘यस घडीमा प्रहरी र आम नेपाली दाजुभाइ, दिदी बहिनी नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनीकरणका लागि जिम्मेवारी बोधका साथ मुलुकप्रति समर्पित हुन आवश्यक भएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ । 

प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी विज्ञप्तिमा प्रदर्शनका क्रममा भएको जनधनको क्षति अपूरणीय एवं दुःखद भएको, त्यसबाट उत्पन्न परिणामस्वरुप परिस्थितिलाई बिग्रन नदिन, नागरिक र प्रहरीका साझेदारी पूर्ण, शान्तिपूर्ण, सहकार्यका माध्यमले आन्दोलनका क्रममा भएका घाइतेहरूको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण गर्नुपर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ । 

साथै, कुनै पनि आपराधिक समूहबाट हुने क्षतिलाई रोकी शान्ति पुनःस्थापनार्थ निर्वाह गर्नुपर्ने दायित्वमा एकाकार भई प्रहरीलाई सार्वजनिक शान्ति अमन चयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानुन कार्यान्वयनका माध्यमले कानूनी शासन स्थापित गर्ने कार्यमा सबैको साथ सहयोगका निम्ति प्रहरले अनुरोध गरेको छ ।

Share News