काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनरत नागरिकलगायत सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन् ।
उनले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको जनाउँदै अहिलेको संवेदनशील अवस्थाबाट मुलुक, जनता र लोकतन्त्रलाई जोगाउन सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रपति पौडेलले नागरिकका जायज मागलाई वार्ता र संवादमार्फत समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै संयमित रहन आग्रह गरेका छन् ।
‘लोकतन्त्रमा नागरिकले राखेका मागलाई सम्बोधन गर्ने अभ्यास संवाद र सहमतिबाटै हुन्छ, त्यसैले संयमित रहनुहोस्, वार्तामा आउनुहोस्,’ पौडेलले भने ।
उनले मुलुकलाई थप अस्थिरतामा धकेल्ने गतिविधि नगरी शान्तिपूर्ण बाटो रोज्नसमेत सबैलाई आह्वान गरेका छन्।