काठमाडौं । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र जनताको जीउधनको सुरक्षार्थ सदैव प्रतिबद्ध रहँदै आएको नेपाली सेनाले ‘जेनजी’ आन्दोलनका घटनाक्रमप्रति गहिरो चासो व्यक्त गरेको छ ।
सेनाले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।
साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना र सहानुभूति प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
राष्ट्रिय हित र सुरक्षामा सधैं समर्पित नेपाली सेनाले विद्यमान अवस्थालाई संवेदनशीलतापूर्वक विश्लेषण गरिरहेको जनाएको छ ।
सेनाले नेपाल र नेपाली जनताको जीउधनको सुरक्षा तथा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षणमा निरन्तर प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपाली सेनाले सम्पूर्ण युवा शक्ति तथा देशवासीलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता र संयमता कायम राख्न आग्रह गरेको छ । साथै विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सबैलाई सचेत र जिम्मेवार रहन सेनाले हार्दिक अनुरोध गरेको छ ।