काठमाडौं । विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक सम्पतीमा क्षती नपुर्याउन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै घिसिङले प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका हुन् । उनले लेखेका छन्,‘सुशासन, जवाफदेहिता र सामाजिक सञ्जालमाथिको प्रतिवन्ध हटाउन माग राखेर गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले बर्बरतापूर्वक दमन गर्दा उत्पन्न दुखद परिस्थिति हामी सबैका माझमा छर्लङ्ग छ, सरकारको गलत रबैया, गैरजिम्मेवारीपन र असंवेदनशीलताका कारण आज जुन खालको परिस्थिति सिर्जित भएको छ, यसबाट हामी सबै दुखित छौं ।’
प्रधानमन्त्रीको राजिनामा समेत स्वीकृत भैसकेको अवस्थामा अब संयमित हुने समय आएको बताउँदै सार्वजनिक सम्पति तोडफोड नगर्न आग्रह गरेका छन् ।
उनले थप भनेका छन्,‘ सार्वजनिक सम्पति तपाईं हाम्रै करबाट निर्माण भएको र पुनःनिर्माणमा पनि हाम्रै पैसा खर्च हुन्छ, अबको मार्गदर्शन भनेकै संयमता, परिपक्वता र दीर्घकालीन सुधारको दिशामा उन्मुख हुनु हो । हामी सम्पूर्ण नागरिक, विशेषतः आन्दोलनमा सहभागी युवापुस्ता, संलग्न संस्थाहरूलगायत सबैलाई यो संवेदनशील घडीमा धैर्य, आत्म मूल्यांकन र सहकार्यको भावनाबाट अघि बढ्न हार्दिक आह्वान गर्दछौं।’ घिसिङले जेन जी सहित अन्तरिम चुनावी सरकार गठन गरेर मध्यावधि निर्वाचन घोषणा गर्दै राष्ट्रलाई विद्यमान संकटबाट निकास दिन आवश्यक भएको बताएका छन् ।