काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजीको प्रदर्शनको क्रममा देशभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
महासंघले विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत महासंघले गरेको छ ।
मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजश्वको सदुपयोग लगायत विषयमा युवापुस्ताले देखाएको चासोप्रति संवेदनशील हुन नेपाल सरकार, राजनीतिक दलहरू लगायत सम्बन्धित सबैमा आग्रह गरिएको छ ।
मुलुकमा थप निराशा र अशान्तिको वातावरण कहीं कतैबाट पनि सिर्जना नहोस र शान्तिपूर्ण आन्दोलन र त्यस क्रममा अनावश्यक बल प्रयोग नहुनेतर्फ पनि महासंघले ध्यानाकर्षण गराएको छ ।
सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहितको मर्यादित रोजगारी सम्भव रहेको महासंघको भनाइ छ ।
आर्थिक गतिविधि चलायमान बनाउन र मुख्य पर्यटकीय समयमा नेपालबाट सकारात्मक सन्देश विश्वभर प्रवाह गर्न सबै संयमित हुनुपर्ने समेत महासंघले बताएको छ ।
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार लगायत सम्पूर्ण सबै राजनीतिक दल एवं जेनजीसँग महासंघले अपिल गरेको छ ।