काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर सार्वजनिक तथा मालवाहक यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
महासंघले हालको असहज परिस्थितिमा यात्रुवाहक र मालवाहक सार्वजनिक यातायात सञ्चालन असम्भव भएको उल्लेख गर्दै नेपाल सरकारले शान्ति सुरक्षाको भरपर्दो प्रत्याभूति नदिएसम्म देशभर सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द रहने स्पष्ट पारेको हो ।
महासंघले विज्ञप्ति जारी गर्दै ‘जेनजी’ को प्रदर्शनमा सरकारले गरेको दमनका कारण १९ जना विद्यार्थीको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महासंघले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
साथै नेपाल सरकारलाई घाइतेहरूको उपचारको समुचित व्यवस्था गर्न माग गर्दै महासंघ अन्तर्गतका सबै संघ, समिति, कम्पनी तथा प्रालिहरूलाई उपचार सहयोगका लागि आग्रहसमेत गरेको छ ।
विज्ञप्तिमार्फत महासंघले आफ्ना सम्पूर्ण सदस्य संघ, समिति, कम्पनी तथा प्रालिहरुलाई सार्वजनिक तथा मालवाहक सवारी साधन सञ्चालन नगर्न/नगराउन अनुरोध गरेको छ ।