काठमाडौं । नयाँ पुस्ताका युवामाथि प्रहरीले गरेको दमनको विरोधमा आज देशभर प्रदर्शनहरू भइरहेका छन् ।
कर्फ्यु आदेश जारी गरिएको अवस्थामा पनि देशका विभिन्न स्थानमा युवाहरूले सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा चक्रपथभित्र कर्फ्यु आदेश लागु गरिएको भए पनि प्रदर्शन रोकिएको छैन । उपत्यकाका विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शनहरू जारी छन् ।
यस्तै, ललितपुरमा सञ्चारमन्त्रीको निवासमा आगजनी भएको पुष्टि भएको छ । यद्यपि आगजनी कसले र कसरी ग¥यो भन्ने विषयमा विस्तृत जानकारी आउन बाँकी छ ।
सोमबार प्रहरीले गोली चलाएको नयाँ बानेश्वर क्षेत्रमा आज बिहानैदेखि फेरि प्रदर्शनहरू भइरहेका छन् । सातदोबाटो र कलंकीको चक्रपथ खण्डमा प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका छन् ।
प्रदर्शन बढ्दै गएकाले सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिन्छ भने केही स्थानमा स्थिति तनावपूर्ण बन्दै गएको छ ।