काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री मनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार सार्वजनिक रूपमा आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्दै वर्तमान सरकारको अलोकतान्त्रिक रवैयाप्रति गम्भीर आपत्ति जनाउँदै राजीनामा दिएका हुन् ।
अधिकारीले आफ्नो राजीनामा वक्तव्यमा भदौ २३ गते अर्थात् सोमबार काठमाडौंलगायत देशका विभिन्न स्थानमा युवाहरूले शान्तिपूर्ण रूपमा सरकारको भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणविरुद्ध प्रदर्शन गर्दा भएका दमन र हिंसात्मक कारबाहीहरूले स्तब्ध र चिन्तित भएको उल्लेख गरे ।
‘लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो । त्यसको बदला व्यापक रूपमा दमन, हत्या र बल प्रयोग हुनु निकै दुःखद र निन्दनीय हो,’ अधिकारीले भने ।
उनले अहिंसा लोकतन्त्रको प्राण हो भन्ने मेरो दलको सिद्धान्तमा कुनै सम्झौता हुन नसक्ने बताए । राजीनामा पत्रमा अधिकारीले सरकारमा बसिरहनु आफ्नो नैतिकता र पार्टीले प्रदान गरेको शिक्षाविरुद्ध भएको जनाउँदै, देश र जनतासमक्ष क्षमायाचना गर्दै पदबाट अलग हुने निर्णय लिएको स्पष्ट पारे ।
नेता अधिकारीले देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो ? भन्दै प्रश्न गरे ।
उनले साना बालबालिका र युवाहरूको दमन तथा हत्या भएको समाचारप्रति गहिरो दुःख व्यक्त गर्दै, वर्तमान सत्ताको यो प्रवृत्तिलाई तानाशाहीतर्फको संकेत भनेका छन् ।
‘पटक-पटक युवापुस्ता र जनताले आन्दोलन गरिरहनुपर्ने र सत्तासीनहरूले सदैव असहिष्णुता देखाइ हिंसा गरिरहने बिडम्बनाबाट मुलुकले चाँडै निकास पाउनुपर्छ । लोकतन्त्रमा जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही हुँदैन,’ उनले भने ।