सरकार छोड्ने तयारी कांग्रेस, शेखरले आफ्नो पक्षका मन्त्रीलाई दिए राजीनामाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले सरकार छोड्ने तयारी गरेको छ । अहिले दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा सरकार सञ्चालन भइरहेको छ । अब कांग्रेसले एमालेसँगको साझेदारी ताड्ने तयारी गरेको हो । त्यसको संकेत कांग्रेस महामन्त्री गगन कुमार थापाले गरेका छन् । 

उनले कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । महामन्त्री थापाले कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनुहुँदैन, रहन सक्दै नसक्ने उल्लेख गरेका छन् ।

‘नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ, पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु’, महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘रातभर सुत्न सकिन । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन, अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ, प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ,’ उनले भनेका छन् । 

यस्तै, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह गरेका छन् । चीन भ्रमणमा रहेका डा. कोइराला भ्रमण छोट्याएर आज बेलुका नेपाल फर्कन लागेका छन् । 

कांग्रेस संस्थापनइतरबाट वर्तमान सरकारमा पर्यटनमन्त्री बन्द्री पाण्डे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल र खेलकुद् मन्त्री तेजुलाल चौधरी छन् ।

Share News