राजीनामा नदिने अडानमा प्रधानमन्त्री ओली, घटनाको नैतिक जिम्मेवारी पनि लिएनन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बुझिएको छ । सोमबार भएको जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु र सयौं घाइतेको जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले राजीनामा दिए पनि प्रधानमन्त्री ओलीले भने राजीनामा नदिने बुझिएको हो । 

सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका हुन् । प्रमुख प्रतिपक्षी दलहरूले सडकबाट राजीनामा माग्दैमा प्रधानमन्त्री ओलीले राजीनामा नदिने उनको भनाइ छ । 

‘अहिले प्रधानमन्त्रीको राजीनामा आउँदैन । प्रतिपक्षी दलहरूले अहिले सडकमा बसेर मागेर हुँदैन,’ गुरुङले भने । 

सरकारले सोमबारको घटना घुसपैठबाट सिर्जना भएको धारणा राखेको छ । प्रहरीकै बन्दुकको गोली लागेर प्रदर्शनकारीको मृत्यु भए पनि सरकारले भने त्यसको जिम्मेवारी लिएको छैन । 

अहिले सडकदेखि सामाजिक सञ्जालमा ओलीको राजीनामा माग भइरहेको छ । जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ । समितिले १५ दिनभित्र घटनाको अनुसन्धान गरेर प्रतिवेदन बुझाउनु पर्ने समयसीमा तोएिको छ । 
.
प्रदर्शनबाट डराउँदै प्रतिबन्ध लगाइएको सामाजिक सञ्जाल पनि फुकुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । 

Share News