काठमाडौं । प्रहरीको क्रुरताले सीमा नाघेको छ । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले अत्यन्त दमन गरेको हो ।
प्रदर्शनका क्रममा घाइतेहरूको उपचार भइरहेको अस्पतालको इमर्जेन्सी रुममै प्रहरीले अश्रुग्यास प्रहार गरेको एक चिकित्सकले जानकारी दिए ।
सिभिल अस्पतालमा प्रहरीको चरम दमनपछि घाइते सम्हाल्न मुस्किल भइरहेको अवस्थामा प्रहरीले अश्रुग्यास हानेको हो ।
सिभिल अस्पतालको अवस्था अस्तव्यस्त रहेको छ । अस्पतालका एक कर्मचारीका अनुसार घाइतेलाई राख्नका लागि बेड पनि नहुँदा समस्या भएको छ ।
हालसम्म प्रहरीको गोली लागि १८ जनाको मृत्यु भइसकेको छ भने विभिन्न अस्पतालहरूमा सयौं घाइतेको उपचार भइरहेको छ । घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेको छ।
जेनजी पुस्ताले देशमा भइरहेको भ्रष्टाचारविरुद्ध आज देशभर प्रदर्शन गरेको हो । आन्दोलनकारीले नयाँ बानेश्वरस्थित संसद् भवन घेराउ गरेपछि प्रहरीले गोली चलाएको थियो ।
हाल सरकारी दमनको चौतर्फी विरोध भएको छ । धेरैले गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा मागसमेत गरेका छन् ।