प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग, देशव्यापी आलोचना

काठमाडौं । जेनजीको प्रदर्शनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको चाैतर्फी आलोचना भइरहेको छ । अहिले सामाजिक सञ्जालमा सर्वसाधारणले उनीहरू दुवै जनाको  राजीनामा माग गरिरहेका छन् । 

सर्वसाधारणसँगै उनीहरू आवद्ध पार्टीबाट पनि दुवै जनाको राजीनामा माग भइरहेको बुझिएको छ । कांग्रेस केन्द्रीय सदस्य प्रा.डा गोविन्दराज पोखरेलले गृहमन्त्री लेखकले तत्कालै राजीनामा दिनुपर्ने बताएका धारणा राखे ।

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, 'गृहमन्त्रीले तुरून्तै राजीनामा दिनु पर्यो, यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्यो ।'

उनीसँगै कांग्रेसका अन्य नेता तथा कार्यकर्ताले पनि दुवै जनाको राजीनामा माग गरिरहेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । सामाजिक सञ्जालमार्फत उनले नेपाली मारेर शासन गर्ने, बच्चा मारेर शासन गर्ने नेपाल सरकार धिक्कार भन्दै आक्रोश पोखेकी छन् ।

उनले भनेकी छन्, ‘नेपाली मारेर शासन गर्ने बच्चा मारेर शासन गर्ने–नेपाल सरकार धिक्कार । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना ,प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो वैधता गुमाउनुभएको छ । तपाईंले राजीनामा दिनैपर्छ ।’

Share News