काठमाडौं । जेनजी प्रदर्शनमा गोली चलाउन आदेश दिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल विवादमा तानिएका छन् । सोमबार भएको जेनजी प्रदर्शनमा गोली हान्ने आदेश दिने रिजाल विवादमा तानिएका हुन् ।
उनले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनेलाई गोली हान्न आदेश दिएका थिए ।
सीडीओ रिजालको छोरी विदेशमा रहेको चर्चा सामाजिक सञ्जालमा छ । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले ‘न्याय माग्ने जनतालाई गोली हान्ने आदेश दिनेले आफ्ना सन्तानलाई विदेश पठाउने अधिकार कसरी राख्छ ?’ भन्दै आक्रोश पोखिरहेका छन् ।
रिजाललाई गत भदौ ४ गते गृह मन्त्रालयले काठमाडौंको सीडीओमा खटाएको थियो । यसअघि उनी गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा कार्यरत थिए । केही प्रयोगकर्ताले रिजालको फेसबुक प्रोफाइलमा समेत गई उनीविरुद्ध निकै आक्रोश पोखिरहेका छन् ।

जेनजी आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा हालसम्म १५ जनाको ज्यान गएको खुलेको छ । सयौं घाइते छन् ।

विदेशमा छोरी पठाएर सुरक्षित राखी जनताका छोराछोरीलाई गोली खान लगाएको भन्दै उनको व्यापक आलोचनामा भइरहेको छ । सरकारी वेबसाइटबाट रिजालको फोटो पनि हटाइएको छ ।
