जेनजीको आन्दोलनमा भएको घटना दुखद, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल हटाइयोस्ः प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भएको जेन-जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुखद घटनाले स्तब्ध र गम्भीर बनाएको बताएका छन् । प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।

‘जेन-जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धको मागहरूलाई तत्काल सम्बोधन गरियोस्। स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारी पूर्वक ठोस कदम चालोस्,’ उनले भने ।

साथै, काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन-जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै माओवादी केन्द्रका उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक भीमसेन थापा गाउँपालिका-३, टारिफाटमा बसेको छ।

बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्दै भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ। 

त्यसैगरी, जेन-जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धको मागहरूलाई तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारी पूर्वक ठोस कदम चाल्न सरकार समक्ष माग गरेको छ।

Share News