काठमाडौं । कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यसका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीको जारी पूँजी ८० करोड रुपैयाँ रहेको छ । यसमध्ये ३० प्रतिशत हिस्सा सर्वसाधारणलाई आईपीओमार्फत निष्काशन गरिनेछ भने बाँकी ७० प्रतिशत रकम विभिन्न क्षेत्रमा लगानी भइसकेको कम्पनीले जनाएको छ । हाल कम्पनीले धितोपत्र बोर्डको लगानी कम्पनी सम्बन्धी निर्देशन अनुसार पर्यटनअन्तर्गत विभिन्न केवलकार कम्पनीहरूमा, ऊर्जा क्षेत्रमा र कृषि उत्पादन क्षेत्रमा लगानी गर्दै आएको छ ।
सोमबार सम्पन्न सम्झौतामा कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष बालकृष्ण शिवाकोटी र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले प्राथमिक सेयर निष्काशनको प्रक्रिया अघि बढाउने जनाएको छ ।