काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सार्वभौमसत्ता सर्वोपरि हुने बताएका छन् ।
ललितपुरको गोदावरीमा रहेको सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी एमालेको विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई कसैले हेपेको सहन नसकिने बताएका हुन् ।
‘राष्ट्रियता कविता हैन,’ ओलीले महाधिवेशनको अन्तिम दिनलाई सम्बोधन गर्दै भनेका छन्, ‘हामी वाक स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि बलिदान दिएर आएका शक्ति हौं । नेपालमा व्यवसाय गरेर पैसा कमाउने अनि यहाँको कानुन मान्दिनँ भन्नु सह्य हुँदैन । केही मान्छेहरू विरोध मात्रै गर्ने पुतलीजस्ता भएका छन्,’ ओलीले भने ।
आफूलाई ठुलै बुद्धिजीवी ठान्नेहरूको चिन्तन समेत स्वतन्त्र नभएको प्रधानमन्त्रीको आरोप छ ।
बुद्धिजीवीप्रति अलि आक्रामक देखिएका ओली पछिल्लो जेनजी पुस्ताप्रति भने नरम सुनिए । उनले भने, ‘यो पुस्ताका नाममा समाजलाई भड्काउन खोजिए पनि जेनजी पुस्ता देशलाई माया गर्छ ।’
जेनजीको नाममा अराजकता चाहनेहरू हावी हुन खोजेकोले त्यो पुस्ताको सचेतना नबिर्सिनसमेत उनले सचेत गराए ।