१ करोड लगानीमा साबुन उद्योग सञ्चालन, ५० लाख रुपैयाँ आम्दानी

काठमाडौं । १ करोड रुपैयाँ लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठे खोला गाउँपालिका-७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका साबुन उत्पादन गर्दै आएका हुन् ।

उनीहरू दुवै स्नातकोत्तर उत्तीर्ण हुन् । उनीहरुलाई समकालीन साथीहरू विदेशिँदा तिमीहरू पनि विदेश जाऊ भनेर सल्लाह दिनेहरू नभेटिएका होइनन् । परिवारकै सदस्यले पनि विदेश जानुको विकल्प देखिँदैन भन्थे । तर, तीर्थ र ताराले विदेशको विकल्प रोज्ने होइन, नेपालमै उद्यमी बन्ने सपना देखे ।

यतिबेला उनीहरू दुई वर्षको छोरासँगै आफ्नो उद्योगलाई हुर्काइरहेका छन् । स्वदेशमै स्वरोजगार सृजना गरेका तीर्थ र ताराको उद्योगमा अहिले ६ जनाले रोजगारी पाएका छन् । बागलुङ बजारको हल्लन चोक नजिकै रहेको टिएण्डटी म्यानुफ्याक्चरिङ उद्योगबाट तीर्थ र ताराले भाँडा र कपडा धुने साबुन उत्पादन गरेर बागलुङको गलकोट, बुर्तिबाङ, कुश्मिसेरा, बरेङ र म्याग्दी र पर्वत जिल्लाका मुख्य सहरमा बिक्री गर्दै आएका छन् ।

विसं २०७८ मा पर्यटन तथा उद्योग कार्यालय र बागलुङ नगरपालिकामा उद्योग दर्ता गरेका तीर्थ र ताराले २०८० सालबाट साबुन उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । ५० लाख रुपैयाँ लगानी गरेर सुरु गरेको उद्योगमा १ करोड रुपैयाँभन्दा बढी लगानी पुगेको छ । निकट भविष्यमा सरफ, हार्पिक र कुलिनसमेत उत्पादन गर्ने लक्ष्य रहेको ताराले बताए ।

‘अहिले विदेश जाने लहर चलेको छ, तर हामीहरूले यही नै केही गर्नुपर्छ भन्ने सोच बनायौँ र साबुन उद्योग सुरु गरेका हौं, नयाँ कामको सुरुआत आफैँबाट थालनी गर्नुपर्छ भन्ने मान्यता राख्छौँ, यहाँ साबुन उद्योग सञ्चालन हुँदा गाउँ ठाउँकै स्थानीयले नै रोजगार पाउँछन्,’ उनले भनिन् । 

साबुन उत्पादनका लागि अधिकांश कच्चा पदार्थ भारत र केही काठमाडौंबाट खरिद गर्ने तीर्थले बताए ।  आफूहरूले वार्षिक ५० लाख रुपैयाँ बराबरको कारोबार गर्ने उनको भनाइ छ । २ सय ग्रामको कपडा धुने कालिका साबुनलाई ५० रुपैयाँमा बिक्री गर्दै आएको उनी बताउँछन् । उत्पादनमा मात्र नभएर उत्पादित साबुनको गुणस्तरमा समेत ध्यान दिने गरेको उनको भनाइ छ । 

Share News