बुढाथोकी कोल्ड स्टोरको व्यापारमा उछाल, एक वर्षमा १ अर्ब बढीको कारोबार

काठमाडौं । बुढाथोकी कोल्ड स्टोरेजको व्यापारमा उछाल आएको छ । कोल्ड स्टोरेजका साथै मासु प्रशोधन गरी व्यवसाय गर्ने बुढाथोकी कोल्ड स्टोरेज प्रालिले एक वर्षमा १ अर्ब बढीको कारोबार गरेको हो । कम्पनीको तथ्याङ्क अनुसार सन् २०२५ को ९ महिनामा १ अर्ब ८ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार गरेको हो ।

यसअघि कम्पनीले सन् २०२४ मा १ अर्ब २ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । यस्तै, सन् २०२३ मा १ अर्ब १ करोड रुपैयाँ, सन् २०२२ मा ७६ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा ४७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेको कम्पनीले जनाएको छ । 

सन् १९९६ मा स्थापित बुढाथोकी कोल्ड स्टोरेज शीत भण्डारण व्यवसाय मात्रै गरिरहेको थियो । सन् २०१५ पछि भने कम्पनीले कुखुराको मासु प्रशोधन प्लान्ट स्थापना गरेर मासु प्रशोधन गर्दै आएको छ । साथै कम्पनीले सन् २०२२ देखि बङ्गुर (पोर्क)को मासु पनि प्रशोधन प्लान्ट पनि सञ्चालन गरिरहेको छ । 

कम्पनीको मासु प्रशोधन प्लान्ट, शीत भण्डारण सुविधा र मुख्य कार्यालय काठमाडौंको सीतापाइलामा रहेको छ ।

कम्पनीमा बसन्त प्रकाश बुढाथोकीको ३६ प्रतिशत, मीना बुढाथोकीको ५१ प्रतिशत र बाँकी तामिब बुढाथोकीको १३ प्रतिशत सेयर स्वामित्व रहेको छ । 

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट १ अर्ब १७ करोड ८८ लाख रुपैयाँ कर्जा लिएको छ । कम्पनीका अनुसार हाल ७६ करोड ३८ लाख रुपैयाँ दीर्घकालीन ऋण र ४१ करोड ५० लाख रुपैयाँ अल्पकालीन ऋण लिएको छ ।

यसअघि कम्पनीले ४६ करोड ६ लाख रुपैयाँ दीर्घकालीन र ३७ करोड ९४ लाख रुपैयाँ अल्पकालीन गरी कुल ८४ करोड रुपैयाँ ऋण लिएको थियो । 

Share News