काठमाडौं । म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीय स्थल टोड्केमा रैथाने बाली प्रशोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना भएको छ ।
गण्डकी प्रदेश सरकार र रघुगङ्गा गाउँपालिकाको सहयोगमा झिँका कृषक समूहले टोड्के हिल रिसोर्ट तथा होमस्टेमा कोदोलगायत रैथाने बालीको प्रशोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना गरेका हुन् । परम्परागत जौँ, उवा, कोदो र फापरको पिठोबाट बिस्कुट बनाउने उद्योगको परीक्षण सफल भएको रघुगङ्गा गाउँपालिका-५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले बताए ।
‘गाउँपालिकाले उपलब्ध गराएको उपकरण जडान गरेर परीक्षणका लागि कोदोको बिस्कुट उत्पादन भएको छ,’ उनले भने, ‘अर्को चरणमा फापर, जौ र उवाको पनि बिस्कुट बनाउने तयारी छ ।’
कोदो, फापर, जौ र उवा पिस्ने मिल, प्रसोधन र पिठो पकाएर बिस्कुट बनाउने उपकरण ल्याएर जडान गरिएको छ । समुन्द्रि सतहदेखि २ हजार ३०० मिटर उचाइमा रहेको टोड्केबाट सूर्योदय, पहाडी भूगोल, धौलागिरि र अन्नपूर्ण हिमशृङखलाको अवलोकन गर्न सकिन्छ ।
टोड्के हिल रिसोर्ट तथा होमस्टेका सञ्चालक भीम शेरचनले उद्योगले स्थानीय किसानले उत्पादन गरेको रैथाने बालीको खपतका साथै टोड्केको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने बताए ।
लोप हुँदै गएको परम्परागत जौँ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारको ७५ लाख रुपैयाँ र रघुगङ्गा गाउँपालिकाको २५ लाख रुपैयाँ बजेटबाट झिँमा जौँ र उवा उत्पादन तथा ‘ब्रान्डिङ’ परियोजना सञ्चालन भएको थियो । परियोजनामार्फत ३०० रोपनी क्षेत्रफल जमिनमा जौँ र उवाखेती विस्तार भएको छ ।
७५ प्रतिशत अनुदानमा ६७ जना कृषकलाई ३० वटा मिनिटेलर हलो, १८ वटा थ्रेसर मेसिन, १९ वटा कम्बाइन मेसिन, थप ८२ वटा जौ, उवा र कोदो तथा घाँस काट्ने ब्रस कटर, एक सेट कुकीज उत्पादन गर्ने मेसिन, १६६ थान त्रिपाल, १०० वटा ३०० किलोग्राम तौल क्षमताको मेटल बिन, २० एम एमको ४हजार ३६४ मिटर, २५ एम एमको १ हजार ५००, ३२ एम एमको ४ हजार २०० र ४० एमएमको २०० मिटर पाइप वितरण भएको छ ।
किसानलाई सूचीकरण गरी परम्परागत जौँ, कोदो, फापर र उवा बालीको महत्वबारे जानकारी गराई खेती प्रविधिसम्बन्धी तालिमसमेत दिइएको थियो । झिँका होटल र होमस्टेमा जौँ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन भएको थियो ।