काठमाडौं । नेपाल र इजरायलबीचको द्विपक्षीय व्यापार विस्तार, प्रविधि हस्तान्तरण र निजी क्षेत्रीय सहकार्यका सम्भावनाबारे बिहीबार उद्योग संगठन मोरङ र नेपालका लागि इजरायली राजदूत श्मूलिक एरिक वासबीच अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले दुई देशबीच आपसी सहकार्यलाई गहिरो बनाउँदै नयाँ सम्भावना पहिल्याउनुपर्ने आवश्यकता औंल्याए । उनले नेपाल कृषि प्रधान देश भएकाले इजरायलको हरितगृह प्रविधि, बाली व्यवस्थापन र प्रशोधन प्रणालीबाट लाभ लिन सकिने भन्दै ज्ञान आदानप्रदान, तालिम तथा लगानीमार्फत सहकार्य गर्नुपर्नेमा जोड दिए ।
राजदूत वासले नेपाल–इजरायलबीचको व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउन इजरायल सकारात्मक रहेको बताउँदै, प्रविधि हस्तान्तरण तथा सम्भावित आयात–निर्यातका विषयमा अध्ययन गरी अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले यस्ता सहकार्यले दीर्घकालीन लगानी, रोजगारी सिर्जना र सीप आदानप्रदानमार्फत दुवै देशको हितमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
संगठनका कोषाध्यक्ष एवं अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन समितिका संयोजक पारस लुनियाले नेपाल–इजरायलबीच वार्षिक ९ मिलियन अमेरिकी डलरभन्दा बढीको व्यापार भए पनि व्यापार सन्तुलन इजरायलको पक्षमा रहेको तथ्यांक प्रस्तुत गरे । उनले नेपालबाट गलैचा, हस्तकला र छालाजन्य वस्तु निर्यात हुने र इजरायलबाट औषधि, प्रसारण उपकरण, दूरसञ्चार तथा कृषि उपकरण आयात हुने जानकारी दिए ।
त्यस्तै, उनले कृषि प्रविधि, ड्रिप सिँचाइ, सूचना प्रविधि तथा अन्य उत्पादन क्षेत्रहरूमा सहकार्य सम्भावना रहेको उल्लेख गर्दै कोशी प्रदेशमा संयुक्त पाइलट परियोजना सञ्चालन गर्न सकिने बताए ।
कार्यक्रममा संगठनका उपाध्यक्ष विपिन कावरा, निवर्तमान अध्यक्ष राकेश सुराना लगायतले इजरायलसँग सिधा हवाई कार्गो सञ्चालन, प्रविधि हस्तान्तरण र कृषिको आधुनिकीकरणमा सहकार्य आवश्यक रहेको धारणा राखे । साथै, इजरायलमा कार्यरत नेपाली केयरगिभरहरूको योगदान र शिक्षा, पर्यटन तथा प्रविधि क्षेत्रमा छात्रवृत्ति तथा तालिमका अवसरलाई अझ सशक्त बनाउनुपर्नेमा पनि जोड दिइयो ।